नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’को टिम छायांकनका लागि सिक्किम पुगेको छ ।
सिक्किममा चलचित्र छायांकन भइरहेको जानकारी अदितीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै दिएकी हुन् । चलचित्रको ६० प्रतिशत दृश्यको छायांकन सिक्किममै हुने जनाइएको छ।
निषेधाज्ञा अगाडि गत बैशाखमा पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै ‘बाबरी’ को छायांकन सुरु भएको थियो र करिब २ साता यो चलचित्रको छायांकन पूर्वका रमणीय स्थानमा भयो । तर, कोरोना महामारीको दोस्रो लहर बढेपछि छायांकन पोस्टपोन्ड गरियो ।
तिहार अगाडी चलचित्रको दोस्रो चरणको छायांकन सुरु भएको थियो । काठमाडौंमा गीतको छायांकन गर्दै चलचित्रको रोकिएको काम सुरु गरिएको थियो ।
‘बाबरी’ मा नेपाली चलचित्रकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको पनि मुख्य भूमिका रहेको छ । नेपालमा उनको भागको छायांकन पूरा भइसकेको छ । अब उनी बाँकी छायांकनका लागि मुम्बईबाट सिधै दार्जिलिङ जानेछन् । चलचित्रमा तृप्तीको पनि अभिनय रहने बताइएको छ । चलचित्रलाई यस वर्षको अन्तिम (नयाँ वर्ष) मा प्रदर्शन गर्ने निर्माण टिमको तयारी रहेको छ ।
बाबरी फिल्मस्को ब्यानरमा निर्माण रहने लागेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै छन् । यसअघि चलचित्र ‘आभास र कृ’ निर्देशन गरिसकेका सुरेन्द्रको दोश्रो पटक अदितिसँग सहकार्य हुन लागेको हो। चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहेको छ ।
यो चलचित्रमा अदितिको जोडी धिरजसँग बाँधिएको छ । पहिला यो चलचित्रमा अभिनेत्री अदिती बुढाथोकीको अपोजिटमा गायक नितेशजंग कुँवर अनुबन्धित भएका थिए । तर, उनले पारिवारिक कारण देखाउँदै चलचित्र छाडेपछि धिरज मगर भित्रिएका हुन् ।
नायक धिरज मगरले चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकेपछि यो चलचित्रको काम सुरु गरेका हुन् । नायिका अदिती वुढाथोकीले भने चलचित्र ‘कृ’पछि यो चलचित्रमा काम गर्न लागेकी हुन् ।