अदिती र धिरजको ‘बाबरी’को छायांकन सम्पन्न

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’को छायांकन सकिएको छ । निर्माणपक्षले चलचित्रको छायांकन ३८ दिनमा सकिएको बताएको छ ।

निषेधाज्ञा अगाडि गत बैशाखमा पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै ‘बाबरी’ को छायांकन सुरु भएको थियो र करिब २ साता यो चलचित्रको छायांकन पूर्वका रमणीय स्थानमा भयो । तर, कोरोना महामारीको दोस्रो लहर बढेपछि छायांकन पोस्टपोन्ड गरियो । यो चलचित्रको छायांकन मोरङ, झापा, सिक्किम लगायतका स्थानमा गरिएको छ ।

‘बाबरी’ मा नेपाली चलचित्रकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा तृप्तीको पनि अभिनय रहने बताइएको छ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

बाबरी फिल्मस्को ब्यानरमा निर्माण रहने लागेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै छन् । यसअघि चलचित्र ‘आभास र कृ’ निर्देशन गरिसकेका सुरेन्द्रको दोश्रो पटक अदितिसँग सहकार्य हुन लागेको हो। चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहेको छ ।

यो चलचित्रमा अदितिको जोडी धिरजसँग बाँधिएको छ । पहिला यो चलचित्रमा अभिनेत्री अदिती बुढाथोकीको अपोजिटमा गायक नितेशजंग कुँवर अनुबन्धित भएका थिए । तर, उनले पारिवारिक कारण देखाउँदै चलचित्र छाडेपछि धिरज मगर भित्रिएका हुन् ।

 

 

 

 

 

Leave a Reply