चलचित्र सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र ‘म’ को सोमबारबाट छायांकन सुरु भएको छ । काठमाडौंको महेन्द्र निधि अस्पतालबाट दृश्य खिच्न सुरु गरिएको यस चलचित्रको २ वर्ष अगाडि नै घोषणा गरिएको थियो तर कोरोनाका कारण छायांकन सुरु हुन सकेको थिएन । चलचित्रको मुख्य भूमिकामा अभिनेता नरेन खड्काको पनि प्रवेश भएको छ ।
चलचित्र ‘सुनगाभा’ का निर्देशक सुर्वण थापाले ‘म’ को निर्देशन गर्नेछन् । चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रमा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । पदम पुरी सह-निर्माता र विमला हुँमागाइँ निर्माता रहेको चलचित्रको प्रोडक्सन म्यानेजर करन सिंह हुन् । निर्देशक सुवर्ण थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जानकारी दिए । फिल्मको कथा निकै बलियो रहेको उनको भनाई छ ।