समाजसेवा धनले मात्रै हुँदैन, मनले पनि हुन्छ । यसैको उदाहारण हुन्, निर्देशक खेन्पो शेल्नङ्ग । सानैदेखि गुम्बामा लामा बनेर बसेका उनले आफूले बनाएका दुई छोटो फिल्म देखाएर पैसा जम्मा गरे र सोहि पैसाले दुःख पाएकाहरुको सेवा गरे ।
गुम्बामा लामाले फिल्म बनाउनु र गीत गाउनुलाई राम्रो मानिदैंन । यसको विरुद्धमा गएर शेल्नङ्गले फिल्म बनाए, तिब्बती भाषामा ‘चरा बर्ष’ र नेपाली भाषामा ‘सुपर मङ्क’ । चरा बर्ष फिल्ममा बाबु र छोरा बिचको अन्तरद्वन्द्व देखाइएको छ । फिल्ममा आमाको मृत्युपछि बाबुले गुम्बामा लगेर छाडिदिएको छोराको मनोबिज्ञानलाई कलात्मक ढंगले देखाइएको छ । यो उनको पहिलो फिल्म हो । त्यस्तै दोस्रो फिल्ममा भने माओबादी द्वन्द्वले निम्त्याएको कहाली लाग्दो अवस्थामा लामाको सोचाइ देखाइएको छ ।
दुबै फिल्ममा बालबालिकाको मनोबिज्ञान देखाइएको छ । बिभिन्न अन्तर्राष्ट्रिय अवार्ड समेत जित्न सफल फिल्म डिजिटल प्ल्याटफर्महरुमा भने राखिएको छैन । शेल्नङ्ग भन्छन्, ‘यी दुबै फिल्मका बच्चाको कथा, मेरो आफ्नै कथा हो ।’ आफ्ना सोचाइलाई फिल्ममा देखाउन पाएकाले पनि उनि दंग छन् ।
त्यो भन्दा पनि खुशी उनि आफुले बनाएको फिल्मबाट उठेको रकम आफ्नो गाउँ कै लागि खर्च गर्न पाएकोमा छन् । १५ मिनेटभन्दा कम समयका यिनै दुई फिल्म देखाएर उनले झण्डै तीन लाख रुपैयाँ जम्मा पारे । पैसा जम्मा गर्दाको समय सम्झँदै उनले भने, ‘म जन्मेको गाउँ मुगु हो । त्यहाँ केहि गर्ने इच्छा थियो, जुन पुरा भयो ।’
उनले समाजसेवा गरेको गाउँ रारा ताल नजिकै रहेको गामगरे गाउँमा हो । गत कार्तिक महिनामा आगालागी भएर त्यहाँका २१ घरधुरी जलेको समाचार उनले सुनेका थिए । शेल्नङ्गको घर भने गामगरे गाउँबाट पनि अझै दुई दिन टाढा पर्छ । मुगु जिल्लाको नाम उनै जन्मिएको गाविस मुगुबाट राखिएको हो । सुरुमा त शेल्नङ्गको दिमागमा समाजसेवा गर्ने कुनै रहर जागेको नै थिएन । उनि साथीहरुसँग मिलेर फिल्म महोत्सव गर्न चाहन्थे । केहि समयअघि यस बारेमा छलफल पनि चलिसकेको थियो । फिल्म देखाएर पैसा जम्मा गर्ने र त्यहि पैसाले महोत्सव गर्ने उनिहरुको योजना थियो ।
तर जब जाडो छिप्पिँदै गयो, शेल्नङ्गलाई ति आगालागीमा परेका गामगरे गाउँका बासिन्दाको याद आउन थाल्यो । उनिहरु टेन्टमा बसेका छन् भन्ने खवरले झनै उनलाई छटपटी गरायो । उनले तत्कालै साथीहरुसँग प्रस्ताव गर्दै भने ‘फिल्म फेस्टिवल पछि गरौंला तर पहिले फिल्म देखाउँ र त्यसबाट आएको पैसाले तत्काल ज्याकेट किनेर दिउँ ।’ साथीहरु पनि उनको कुरामा सहमत भए ।
एउटा ज्याकेटलाई २ हजार पर्ने रहेछ । ८० जनालाई ज्याकेट लिएर जान एक लाख ६० हजार आवश्यक पर्नेभयो । समाजसेवाका लागि भन्ने थाहा पाएपछि ज्याकेट बनाउने गार्मेन्ट सञ्चालकले समेत २० ओटा ज्याकेट निशुल्क दिने भए । अब उनलाई १ लाख २० हजार रकम जम्मा गर्नु थियो । छोटो समयमै उनले केहिलाई फिल्म हेर्न बोलाए । फिल्म हेर्न उनले सोचेको भन्दा धेरै दर्शक आइदिए । फिल्म हेर्न आउनेलाई खानाको समेत व्यवस्था गरिएको थियो । खाना खुवाउनुको कारणबारे शेल्नङ्गले भने, ‘मानिसहरुलाई आकर्षण गर्नुका लागि पनि डिनर खुवाउनु आवश्यक थियो ।’
नभन्दै फिल्म देखाएर तिन लाख रकम उठ्यो । खानाको रकम कटाएर दुई लाख ६० हजार बच्यो । ज्याकेटसँगै उनि केहि नगद बोकेर गामगारे गए र त्यहाँका पिडितलाई वितरण गरे । केहि ब्यक्तिगत साथीहरुले ११ हजार चन्दा समेत दिएका थिए उनलाई । त्यो पैसाले एउटा स्कुलमा गएर कलम कापी बाँड्ने योजना बनाए । उनि गामगारे नजिकैको एक विद्यालयमा पुगेर कापी कलम बाँड्ने योजनमा थिए तर उनि पुगे अर्कै गन्तव्यमा ।
जुम्ला बस्ने एक साथीले गामगारेका विद्यार्थीकालागि भन्दा त्यो कापी कलम अर्कै गाउँका विद्यालयलाई दिए न्याय हुने बताए । त्यो विद्यालय गामगारे भन्दा एक दिन पर थियो । शेल्नङ्गको रारा घुम्ने योजना थियो । तर साथीले उक्त विद्यालयको भिडियो देखाएपछि मन मानेन । पैसा सकिइसकेको थियो, तर पनि रारा घुम्न ठिक्क पारेको पैसा बोकेर उनि एक दिन परको विद्यालयमा पुगे ।
बाटोभरी हिउँ पर्यो । सामान बोकेर गएका भरिया आधा बाटोबाट अगाडी जान मानेन । सामानहरु आफै बोकेर केहि साथीहरुको साथमा उनि विद्यालय पुगे । बस्ने समेत ब्यवस्था भएको त्यो बिद्यालयमा २ महिना घाम नलाग्ने रहेछ । २ सय ६८ जना विद्यार्थीहरु निकै कष्टपूणर् तवरले अध्ययन गरिरहेका रहेछन् । उनिहरु जाडो छल्न गुफामा आगो बालेर बसेको देखेर शेल्नङ्गको मन भक्कानियो ।
उनले भने, ‘मैले सक्थें भने पल्लो डाँडामा लागिरहेको घामको तापलाई रिफ्लेक्ट गरेर ति साना बाबुनानीको ढाँड तताउँथें । तर मेरो क्षमता भन्दा परको कुरा थियो ।’ उनले अनुहार निन्याउरो बनाउँदै भने, ‘त्यहाँ कापी कलम भन्दा नाना र खानाको आवश्यकता थियो । हामी भने त्यहाँ पढाइको सामान लिएर गएका थियौं । यो हाम्रालागि लज्जास्पद क्षण भयो ।’ शेल्नङ्ग मात्रै हैनन् छोटो फिल्म र फिचर फिल्म बनाउने अन्य निर्देशकहरु पनि फिल्म देखाएर समाजसेवा गरिरहेका छन् ।