चलचित्र ‘२ नम्बरी’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छिन् । चैत १ गतेबाट हुने चलचित्रको छायांकनका लागि उनी नेपाल आएकी हुन् ।
यसअघि पनि उनी नेपाल आएकी थिइन् । कोरोना भाइरसको कहरबाट जोगिन र क्षति न्यूनीकरण गर्न ‘लकडाउन’ गरेपछि चलचित्रको छायांकन स्थगित गरेको थियो । ‘२ नम्बरी’को छायांकनको लागि नेपाल आएकी उनी लकडाउनको कारण नेपालमा नै रोकिनु परेको थियो । तर चलचित्रको गतिविधि ठप्प र कोरोना कहर पनि बढेपछि उनी भुटान फर्केकी थिइन् ।
निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्रको दुई वर्षअघि नै १० प्रतिशत छायांकन सकिएको भएपनि कोरोना महामारीका कारण बीचमै रोक्नुपरेपछि फेरि सुरुबाटै छायांकन गर्न लागेको निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहनेछ । एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।