प्रकाशः जुम्ला मात्र हैन, सम्पूर्ण नेपाल देखाउने फिल्म

नानो कुडा, एक गरिब मान्ठाको शिक्षक बन्ने सपना। प्रकाश फिल्मको बिषयवस्तु यत्ति हो। तर त्यहाँ देखाइएको संघर्ष, महाभारतको लडाईँभन्दा कम छैन। वर्गीय खाडल पुर्न मद्दत पुर्याउने शिक्षा क्षेत्रमा भएको राजनिति देखाइएको फिल्मले यतिबेला दर्शकसामु परिक्षा दिइरहेको छ। कापी नै नजाँची अनुर्तिण हुने हो कि भन्ने भयसँगै फिल्म थोरै शोमा बिनादर्शक एक्लै चलिरहेको छ।

प्रकाश, प्रतिक्षितमध्येको एक फिल्म। नेपाली फिल्म क्षेत्रले जान्ने टोपलेर छुट्याएको आर्ट फिल्म र कर्मसियल फिल्ममध्ये आर्ट रोजेको फिल्म। हलमा लागेपछि त्यो कर्मसिलय हुनुपर्ने हो तर आर्ट नै रह्यो। त्यसैले होला हलवालाले उपयुक्त समयमा शो टाइम दिइनन्। आर्ट पैसा कमाउन थालेपछि कर्मसियल हुनुपर्ने हो, हलमा पनि आर्ट नै बनिरहँदा त्यो असफलताको कोटीमा पुग्ने सम्भावना देखियो। खैर, हरेश भने नमानिहालौं।

जुम्लामा खिचिएको फिल्ममा एक गरिब युवाको शिक्षक बन्ने सपना र त्यसमा उनले गरेको संघर्ष देखाइएको छ। गरिबमाथी राज गरेर बसेकाहरु कसरी एक हलीको छोरो शिक्षक बन्न खोज्दा बाधक बन्छन्, कसरी माथीपुगेकाहरु तलका जनतालाई माथी पुर्याउने कुरा गर्छन् र सधैं चेपिरहन्छन् जस्ता बिषयवस्तुमा फिल्म केन्द्रित छ। साथमा बेपत्ता श्रीमान घर फर्कने आशमा बसेकाहरु, दलितहरुका कथा पनि जोडिएका छन्।

फिल्म स्पष्ट छ। लेखकले लेखेका कुरा निर्देशकले पर्दामा उतार्न सफल भएका छन्। यसको सबैभन्दा गज्जवको पाटो भनेकै कलाकारको अभिनय हो। प्रकाशको भुमिका निभाएका प्रदिप खड्काले स्टारडमलाई दाउमा हालेर अभिनय गरेको फिल्म हो यो। त्यसैले अन्य कलाकारहरु उनको अघि छायाँमा परेजस्ता लाग्छन्। प्रदिपले पनि यस्तो अभिनय गर्न सक्छ र भन्ने खालका प्रतिक्रिया मुखबाट आफै निस्कन्छ। उनले सानातिना कुराहरुलाई समेत अभिनयमार्फत पर्दामा उतारेका छन्। उनको जुम्ली भाषा बोलेको लवज बनावटी लाग्दैन। उनी पूर्ण रुपमा जुम्ली बनेर अभिनय गरेका छन्।

दिया मास्के पहिल्यैदेखि अब्बल कलाकार हुन्। उनको अभिनय न पहिले खोट लगाउने खालका थिए न फिल्म प्रकाशमा खोट लगाउन मिल्छ। काठमाडौंका दर्शकलाई भने जुम्ली भाषा कस्तो हुन्छ, कसरी बोल्छन्, स्पष्ट छ या छैन, प्राकृतिक छ या छैन भनेर खुट्याउन मुस्किल पर्ने नै भयो तर फिल्ममा कलाकारहरुले बोलेको भाषा अफ्ट्यारो भने सुनिएको छैन। नयाँ कलाकार रेनु योगीलाई तुलनात्मक रुपमा कम प्राथमिकता दिइएको छ। थोरै भुमिकामा पनि उनको अभिनय अव्वल छ। प्रकाश घिमिरे, राजन खतिवडा, पवित्रा खड्का लगायतको अभिनय पनि राम्रो छ।

फिल्म ‘प्रकाश’, व्यावसायिक रुपमा सफल होस्, या नहोस्। फिल्ममा मुख्य कलाकारको भुमिका निभाएका प्रदिप खड्का भने सफल भएका छन्। प्रेमिल फिल्ममा प्रेमिकाको बिछोडमा रुने प्रदिप, देशको राजनिती, शैक्षिक क्षेत्रमा भएको विकृति बिसंगतीमा रुने बन्नु नै उनको सफलता हो। कारबाट झरेर डाँडामा नाच्ने प्रदिप, जुम्ली भेषमा उतैको लवजमा, उतैको सुगन्ध सहित मुस्कुराउनु नै उनको सफलता हो।

फिल्ममा ब्याकग्राउन्ड म्युजिक राम्रो छ। कोहि मानिस नभएको ठाउँमा समेत त्यहाँको बाताबरणीले हल्ला ब्याकग्राउन्डमा देखाइएको छ। त्यसले भने दर्शकको ध्यानलाई भंग गर्न सक्छ। फिल्मको अन्त्य थोरै बिषयमा ध्यान दिएको भएअझै सशक्त हुनसक्थ्यो। फिल्म सुरुवातको दृष्य र अन्त्यको दृष्यमा कनेक्सन देखिन्छ। तर केहि नाटकीय दृष्यका कारण जति सशक्त हुनसक्थ्यो त्यहि भएन। फिल्ममा केहि ठाउँमा रंग संयोजन राम्रो भएको छ। तर केहि ठाउँमा भने अल्छी गरिएको प्रष्ट हुन्छ।

फिल्ममा संवाद कम छन्। जुन फिल्मको सशक्त पाटो हो। निर्देशक दिनेश राउतले सकेसम्म भिडियोबाटै कथा भन्ने प्रयास गरेका छन्। सफल फिल्म निर्देशन गरिसकेका दिनेशले प्रकाशमा पनि राम्रो काम गरेका छन्। तर केहि ठाउँमा समस्या भने देखिएको छ। भिडियोले कथा भन्ने मामिलामा सफल भएपनि, यो सिर्जनात्मकभने हुन सकेको छैन। लामो र अल्छिलाग्दो तरिकाले क्यामरा चलाउँदा, दर्शकलाई कनेक्ट भइरहन समस्या पर्छ। कुनै सट त २ मिनेटसम्म समेत एकै फ्रेममा चलिरहन्छ। पाँच सेकेन्डदेखि अति राम्रो भए १५ सेकेन्डसम्म दर्शक एकै कुरामा धैर्य हुन सक्छन् भनेरै क्यामरा सर्टको समय तोकिएका छन् पाठ्यक्रममा। तर यस्ता कुरालाई ध्यानमा नराख्दा फिल्म केहि पट्यारलाग्दो बनेको छ। तर पनि फिल्म तारिफ योग्य छ। बलिउडको फम्र्याट पछ्याउने नेपाल फिल्ममा यत्तिको गतिलो फिल्मबन्नु र बनाउने प्रयास गर्नु राम्रो कुरा हो।

प्रकाश, आम नेपालीको कथा हो। कोहि डाक्टर बन्न संघर्ष गरिरहेका छन्, कोहि पाइलट। कोहि ठुलो मान्छे बन्ने सपना साकार बनाउन दौडधुपमा छन् त कोहि राम्रो मान्छे। सबैको प्रतिनिधिपात्र बनेको फिल्म प्रकाशमा सरकारी शिक्षक बन्न गरेको संघर्ष देख्न सकिन्छ। सबैभन्दा कम घुसपैठ हुने भनिएको लोक सेवा,शिक्षक सेवाआयोग भित्रको कालो तथ्य फिल्ममा छताछुल्ल भएको छ।

गरिवहरु न गतिलो देशमा बैदेशिक रोजगारिका लागिजान सक्छन्, न आफ्नै देशमा सरकारी जागिर खान सक्छन्। एक दृष्य छ, परिक्षा दिने समयमा प्रकाशको भेट काठमाडौंबाट परिक्षा दिनपुगेका प्रतिस्पर्धीसँग हुन्छ। उनि कम प्रतिस्पर्धा हुने भन्दै काठमाडौंदेखि जुम्ला परिक्षा दिनपुगेका हुन्छन्। बाघ र बाख्राको प्रतिस्पर्धा समेत छुस्स देखाइएको छ। जसले फिल्मलाई अझै गम्भिर बनाएको छ।
अर्को पात्र, जो शिक्षक बन्न चाहँदैन, उ परिवारको दवावमा शिक्षक बन्छ। त्यो पात्र पनि आम नेपालीकै प्रतिनिधी पात्र हो। अर्को क्षेत्रमा रुचि भएकाहरु जर्वजस्ती फरक क्षेत्रमा घुस्दा दुईजनाको जीवन बर्बाद हुन्छ भन्ने कथा पनि फिल्ममा थोरै छोइएको छ।

समग्रमा, हेर्नैपर्ने फिल्म बनेको छ प्रकाश। हलवालाले सुरुमै कम प्राथमिकतामा राखिएको प्रष्ट देखिन्छ। पहिलो दिनको तुलनामा शो टाइम बढ्दै जाओस्। प्रकाशलाई फिल्म क्षेत्रमा भएका राजनीतीसँग जुध्ने शक्ति मिलोस्, कोरिबाटी समुहको शुभकामना।

Leave a Reply