बलिउड सुपरस्टार आमिर खानले अभिनयबाट ब्रेक लिन घोषणा गरेका छन् । अभिनेता खानले करिब ३५ वर्षपछि अभिनयबाट ब्रेक लिएका छन् । अभिनेता खान पछिल्लो पटक चलचित्र ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ रिलिजको चार वर्षपछि आफ्नै होम प्रोडक्सनको चलचित्र ‘लाल सिंह चढ्ढा’बाट आमिर अभिनयमा फर्किएका थिए । तर यो चलचित्र बक्स अफिसमा ठूलो फ्लप साबित भयो ।
सोमबार दिल्लीमा भएको एक कार्यक्रममा आमिर खानले आगामी प्रोडक्सनको बारेमा कुरा गरे र उनले अभिनयबाट ब्रेक लिनुको कारण पनि बताए । अभिनेताले भने, ‘एक अभिनेताको हैसियतमा जब म कुनै फिल्म गर्छु, मेरो जीवनमा के भइरहेको छ भन्ने कुरा बिर्सन्छु । ‘लाल सिंह चड्ढा’ पछि पनि च्याम्पियन्स नामको फिल्म गर्ने सोचमा थिएँ । फिल्मको स्क्रिप्ट उत्कृष्ट र कथा निकै राम्रो छ । तर मलाई लाग्छ अब मैले विश्राम लिनुपर्छ । म आफ्नो परिवार, छोराछोरी र आमासँग समय बिताउन चाहन्छु ।’
आमिर अगाडि भन्छन्, ‘मलाई लाग्छ म ३५ वर्षदेखि काम गरिरहेको छु । मैले आफ्नो काममा मात्र ध्यान दिएको छु । म यो समयलाई फरक तरिकाले जीवन अनुभवका लागि निकाल्ने योजना गर्छु । म जीवनको एक चरणमा छु जहाँ म मेरो सम्बन्धको आनन्द लिन चाहन्छु ।’