आगामी पुस २९ गते प्रदर्शन हुने प्रेमकथानक चलचित्र ‘गुञ्जन’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा प्रमुख तीन कलाकार-सारा सिर्पाली, कविर खड्का र डेब्यु अभिनेता प्रितमराज सेन्चुरीको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । विगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा आफ्नो पहिचान बनाएका अष्टमान महर्जनको डेब्यु निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा माया प्रेमका कुराका साथै सम्बन्धमा आउने उतारचढाव पनि देखाइएको छ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा सारा, प्रितमराज र कबिरका साथमा सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा,रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।
महेश दवाडीले लेखेको चलचित्र राजेश श्रेष्ठले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको सम्पादन बिपीन मल्लले गरेका हुन् । पोखरा, काठमाडौ र दुवईमा खिचिएको चलचित्रको बितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दैछ । चलचित्रको केही समयअघि सार्वजनीक ‘सास चल्छ’ बोलको गीतले अहिले दर्शकको मन जितिरहेको छ ।