रेखा र पूजाको चलचित्रको नाम ‘उपहार’, ज्ञानेन्द्र देउजाको निर्देशन रहने

अभिनेत्री रेखा थापाको निर्माण र निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन रहने आगामी चलचित्रको नाम ‘उपहार’ तय भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा उक्त शीर्षकमा फिल्म दर्ता गरेपछि रेखा फिल्म्सले एक पोस्टर सार्वजनिक चलचित्रबारे औपचारिक जानकारी गराएको हो । सार्वजनिक थिम पोस्टरमा रेखा थापाको ‘उपहार…द जर्नी अफ् लाइफ’ उल्लेख गरिएको छ ।

यो लभस्टोरी र सोसल ड्रामालाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।

बोर्डमा दर्ता भएको विवरणअनुसार रेखा फिल्म्स र कपनगढी ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

डेढ करोड रुपैयाँ बजेट बताइएको यो फिल्म बोर्डमा १२४४ नम्बरमा दर्ता भएको छ । भदौ पहिलो सातादेखि छायांकन सुरु हुने जनाइएको फिल्मको पटकथा अभिमन्यू निरवीले लेखेका हुन् । फिल्मको शीर्ष भूमिकामा रेखा र पूजा छन् ।

गुरुपूर्णिमामा गीतको रेकर्ड गर्दै फिल्मको औपचारिक निर्माण सुरु भएको छ । बाबुल गिरीले संगीत गरेको गीतमा बाबुल र एलिना चौहानको स्वर छ भने शंकर अधिकारी घायलको शब्द छ ।

अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले पहिलो पटक एकसाथ काम गर्न लागेको फिल्ममा रेखा र पूजासँगै अर्की एकजना अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ । केही दिनमा अर्की अभिनेत्रीको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । गत वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘उपहार’को निर्देशन गर्नेछन् ।
फिल्ममा तीनजना अभिनेत्री एक्सन अवतारमा पनि प्रस्तुत हुनेछन् । अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मको कथा सुलक्क्षण भारतीको हो । काठमाडौं आसपासमा छायांकन हुने फिल्मको सोमबार पहिलो गीत रेकर्ड गरिएको छ । उक्त गीतमा एलिना चौहान र बाबुल गिरीले स्वर दिएका छन् ।

Leave a Reply