नेपाल आर्थिक समृद्धी र विकासमा पछि पर्नुका मुख्य कारण राजनीतिक अस्थिरता र भ्रष्टाचारको जालो हो भन्नेमा दुईमत नहोला । राजनीतिक द्वन्द्व लगभग किनारा लागिसकेको अवस्था छ तर भ्रष्टाचार किनारा लाग्ने छाँट देखिन्न । सरकारी वा प्राइभेट कुनै यस्तो निकाय होस् जहाँ भ्रष्टाचार नहोस् । साना नानीहरुले आफ्नो समाज, स्कुल कलेज घर सबैतिरबाट भ्रष्टाचारी संस्कार सिकिरहेका हुन्छन् । भ्रष्टचारले गरिबी बढाएको छ, विकास रोकेको छ, महंगी बढाएको छ, समृद्धीलाई बाधा गरेको अन्तरर्राष्ट्रिय जगतमा देसको बदनाम गरेको छ । एक वाक्यमा भन्दा देश देशबासीको अवस्था जरजर बनाएको छ ।
यस्तो अवस्थामा यसै विषयमाथि सिनेमा बनेको छ ‘सयकडा दश’ यति गतिलो, महत्वपूर्ण र सशक्त विषय उठान गर्नु आफैँमा राम्रो कुरा हो । तर विषयमात्र उठान गर्नु कति सन्तोषजनक छ र यसले भ्रष्टाचारलाई निरुत्साहित गर्न कति मद्दत गर्छ महत्वपूर्ण कुरा यो हो । मैँले यहाँ सिनेमा माथि केही प्रश्न र असन्तुष्टि उठाएपछि ममाथि पनि प्रश्न उठ्न सक्छ । सिनेमा माथि चर्चा गरिसकेपछि यसको संरचना अनुसार पूर्ण समिक्षा गरेको भए हुन्थ्यो । त्यो स्वाभाविक पनि हो । तर म समिक्षक होइन । दर्शक हुँ, सिनेमाको शुभचिन्त्क हुँ, र सिनेमाले समाज परिवर्तनका लागि भूमिका निर्वाह गर्नु पर्छ भन्ने मान्यता राख्छु । यसैले सिनेमा हेरिसकेपछि मनमा खट्केको कुरा, प्रतिक्रिया वा प्रशंसा गर्नु मेरो जिम्मेवारी पनि हो । यसैले प्रेरित छु यी शब्द खर्चिन ।
सिनेमा हलमा पुग्दा सिनेमा सुरुभइसकेको थियो । दश वर्षे मेरो छोरो श्रीमती र मबीच बहस भो कुन सिनेमा हेर्ने भनेर । ‘गोपी’ हेुर्नुथियो मलाई । छोरोलाई रणवीर । बीचको बाटो निकाल्यौँ ‘सयकडा दश’ प्रस्ताव मेरै हो । समर्थन सबैको भयो । हलमा छिरियो । ‘सयकडा दश’ सिनेमाको शीर्षक सार्थकताको कुरा गर्ने ठाउँ छ तर यहाँ नगरौँ । किनकि सिनेमा समिक्षा होइन । दर्शकीय दृटिमात्र हो । तसर्थ यहाँ सिनेमा विषयको गाम्भिर्यता र त्यसले पाउनु पर्नेजति न्यायको कुरा गरौँ केबल एउटा दर्शक भएर ।
सिनेमाप्रति कति अपेक्षा थियो । कति पुरा भयो । कति सन्तुष्टि मिल्यो चर्चा यसमा गरौँ । नेपाली सिनेमा, देशको अवस्था र देशप्रति आफ्नो जिम्मेवारीका बारेमा सचेत नागरिक भएकाले पनि अपेक्षा बढी भएको हुनसक्छ । सिनियर कलाकारका कुरा छोडौँ जुनियर कलाकारकै अभिनयमा असन्तुष्टि भइनँ । तर सयकडा दश हेरिसकेपछि परिवारका तिनै जनालाई लाग्यो अर्कै सिनेमा हेरेको भए हुनेरहेछ । सिनेको समापन विद्रोही हो कि सरेण्डर ? अर्थ वा सन्देश के हो ? मजै आएन । नढाँटी भन्दा सिनेमामा जम्मा ४ पटक मजा आयो । अर्थात ४ मिनेट मात्र मन छोयो ।
दृष्य १ : मनोज गजुरेलले छोरी दिन गएको घर अर्थात सम्धी भ्रष्टाचारी थिए । भ्रष्टाचारीलाई छोरी नदिइ फर्किए । गहिरो प्रेममा परेका दुईका लागि भ्रष्टाचार बाधा भएर आयो ।
दृष्य २: देवले आफ्नै बाबुको भ्रष्टाचारका बारेमा फेसुबक लाइभ गर्नु ।
दृष्य : आफ्ना सन्तान विदेस जाँदा किन रुन्छौ तिमरकै कारण सारा नेपालीका छोराछोरी विदेसिएका छन् । तिनलाई पनि हरेक ठाउँमा घुसखोरीमा पारेका छौ । मनोज गजुरेलको राजाराम पौडेलमाथि संवादात्मक प्रहार ।
दृष्य ४: युवाहरुको समाज सेवाप्रतिको लगाव र प्रेममा समर्पण र त्यागका केही झलक ।
नब्बे मिनेटको एउटा सिनेमाले जम्मा पाँच दश मिनेट मात्र दर्शकलाई बाँधेर अरु पुरै समय फुक्का छोड्नु सफलता हो जस्तो लाग्दैन । हरेक ठाउँको वा हरेक विषयको समस्या सबैले वा जसले पनि खोतल्छ । चर्चा गर्छ । मेरो अर्थात मजस्ता यस विषयमा सचेत वा चिन्तित नारिकको अपेक्षा के हुन सक्थ्यो भने सिनेमाले समस्या होइन समाधान लिएर आउनु पथ्र्यो ।
देशमा वातावरण नभएर युवा विदेसिएको, वातावरण बिग्रनुको कारण भ्रष्टाचार हो । यो कुरा कुनै नेपालीलाई मनोज गजुरेल वा राजाराम पौडेलले भनिरहनु पर्ने विषय होइन सबै भुक्त भोगी छन् । त्यत्ति कुरा भन्न लाखौँ खर्चेर सिनेमा बनाइ रहनु पनि नपर्ला । सिनेमाप्रतिको अपेक्षा र युवाहरुमा आशा जगाउने, भ्रष्टाचार रोक्ने र विदेसिने युवालाई यतै रोक्ने उपायको खोजि हुनु समाधान हुनसक्थ्यो । सिनेमाको सफलता र सिनेमाप्रतिको विश्वास हुन सक्थ्यो ।
सिनेमा जब क्लाइमेक्स चुम्यो ।
आफूले प्राप्त गरेको सारा सुख र खुशी आफ्नो बाबुको भ्रष्ट्राचारको कमाइ हो भन्ने कुरा हुनेवाला ससुराबाट थाहा पायो देवले । आफ्नै प्रेमिकाले उसको प्रेमभन्दा माथि आफ्नो बाबुको आदर्श रहेको जनाउ दिई । अनि नायकले भ्रष्ट बाबुको घर मात्र होइन उसको कमाइले लगाएको एक धर कपडा समेत त्यागेर साथीको कपडाले शरीर ढाकेर, साथीसँगै पाँच सय रुपैया मागेर विद्रोह सुरु गर्छ । आश लागेको थियो अब सिनेमाले ठूलै जागरण सुरु गर्छ । र यही कुरामा सबैलाई सचेत गराउँछ फेसबुक लाइभ मार्फत । अनुरोध गर्छ ‘साथी हो प्रश्न गर्नुस आफैँलाई कतै तपाइँमाथि लगानी भएको पैसा भ्रष्टाचारबाट आएको त होइन ?’ यहाँमात्र सिनेमाले गति लिएको थियो । अब चाहिँ उकालो लाग्ला भन्ने अपेक्षा गर्दागर्दै गतिले प्रगति नगरी सिथिल भयो ।
मेरो अपेक्षा समस्या सुन्ने वा हेर्ने भन्द्या बढी जब देवले फेसबुक लाइभ गरेर जागरणको सुरुवात गर्छ । त्यसपछि हरेक घरले उसलाई अनुसरण गरोस् । हरेक छोराछोरीले आफ्ना आमा बासँग प्रश्न गरुन् हाम्रो कमाइको स्रोत केहो ? जब कमाइको स्रोत भ्रटाचार हो भन्ने थाहा लाग्छ अनि विद्रोहको ज्वाला बलोस् हरेक त्यस्ता घरमा । सबैले त्यागुन भ्रष्टाचारको स्रोत, सुविधा र परिवार । सन्तान र परिवारबाटै उपेक्षामा परुन् भ्रष्ट माता पिता । त्यसपछि भ्रष्टाचारबाट कमाएको सारा सम्पति अख्तियारमा बुझाउन जानेको लाइन लागोस् । हरेक युवा आफुले भ्रष्टाचार नगर्ने र अरुलाई गर्न नदिने प्रण गरुन् । एयरपोर्ट पुगेका युवा समेत प्लेन टिकट च्यातेर फर्किउन् घर । भ्रष्टहरु कोचिउन जेलमा । सबै कार्यालयहरु संलिउन सफा पानी जस्तै । यस्तै यस्तै उर्जा, जागरण, परिवर्तन र आशा जगाउने हुनुपथ्र्यो यस विषयमा । तर भएन । समस्य उठाएर छोडिदियो । समाधान देखाएन । सत्यको जीत र असत्यको हार देखाएन । भन्न केही खोजे जस्तो भन्न नसकेजस्तो भयो ।
एउटाले विषय उठान गरेर त्यसलाई सशक्त नबनाएपछि अर्कोले त्यही विषय उठाउन पनि त्यति मजा नहोला । सिनेमा सयकडा दशले देशको समसामयिक र अपेक्षाकृत एउटा विषयलाई गिजोलेर छाडिदियो । सिनेमा हेरिसकेपछिको यस्तो निराशा पो दियो । तथापी भरखरै अख्तियार दुरुपयोग आयोगले वार्षिकी मनाएको छ । सबैको बुद्धीको बिर्को खोलोस् सयकडा दशले । अन्त्यमा, रिसानी माफ । खाना पस्किएर दिएपछि नुन लागे नलागेको त भन्नै प¥यो होइन र ?
यस्ता विषयमा सिनेमा बन्नु पर्छ, बन्यो । अझै सशक्त बन्नु पर्छ, पछि बन्ला । आशावादीतामा बिराम मेरो कलम ।