चलचित्र ‘परस्त्री’ को शुभ मुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको मुर्हूत गरिएको हो । सुरज पाण्डेको डेब्यू निर्देशन रहने चलचित्रको छायांकन समेत सुरु भएको छ । चलचित्रको छायांकन गीतबाट गरिने भएको छ । जसका लागि निर्माण युनिट आजै मुस्ताङ प्रस्थान गरेको छ । निर्देशक दीपेन्द्र के खनालको लेखन तथा निर्माण रहने चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । चलचित्र आगामी कात्तिक ६ गते देशव्यापी प्रदर्शन हुनेछ ।
`परस्त्री´ लाई सुरज पाण्डेकी आमा शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण हुने चलचित्रमा नीरज पाण्डेको छायांकन रहनेछ।