निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘२ नम्बरी’ मा अभिनेता पल शाहको ठाउँमा अभिनेता सौगात मल्लको इन्ट्री भएको छ । चलचित्रको केही प्रतिशत छायांकन गरिसकेका अभिनेता पल शाह जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा भएकाले उनको ठाउँमा निर्माण टिमले सौगातलाई अनुबन्धित गरेका हुन् ।
चलचित्र आगामी कात्तिक ४ गते तिहारको अवसरमा प्रदर्शन हुने पनि तय भएको छ । चलचित्रको चैत दोश्रो साताबाट छायांकन सुरु हुने भएको छ । चलचित्रको फेरि सुरुबाटै छायांकन गर्न लागिएको हो । पहिलो चरणको कोरोना महामारीअघि पोखराको एक गाउँबाट चलचित्रको छायांकन भइरहेको थियो । त्यसबेला संक्रमण रोकथामका लागि सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा छायांकन नगर्न भनेपछि छायांकन रोकियो । कलाकार, पटकथा र निर्माताको हेरेफेर गरिएपछि चलचित्रको पुनः छायांकन गर्न लागिएको हो ।
चलचित्रमा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहनेछ । एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।