आँखामा आगो, ओठमा ज्वाला बोकी
एकदिन मैले पनि कलंकीमा इन्ट्री हानें ।
मदन । लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको मदन हैन, उ त दुबइ कतार या मलेशियातिर होला । यहाँ पर्दामा देखिएको मदन भुपि शेरचनको कविताबाट जन्मेको हो । जो चार भञ्ज्याङको खाल्डोमा कलंकीको बाटो हुँदै इन्ट्री हान्छ । र, माथीका हरफहरुसँगै उ फिल्मको पर्दामा देखिन्छ ।
सुरुमा केटो अलमल्लिन्छ । सडकमा देखिने सवारी साधनको चहलपहल, गगनचुम्बी भवन र मानिसको भिडमा हराउँछ ।
बिस्तारै उसलाई चार भञ्ज्याङका भुपि गल्ली, डाउनलोड गल्ली अनि पुतली गल्लीहरुले स्वागत गर्न थाल्छन् । गल्लीमा भेटिन्छन् रोनी, ज्याकी र शालिनताहरु । अनि सुरु हुन्छ, मदनको मोर्डन यात्रा ।
शालिनताको रंग, रोनीको ढंग अनि ज्याकीको सङ्ग । अनि कथाहरु अर्कै हुन्छन् । सिनेमाले अर्कै मोड भेट्छ । तर जे मोड भेट्छ, सिनेमामा जे दृष्य देखिन्छन्, हाम्रो मौलिक कथा देखिन्छ ।
गाउँले मदनको मोर्डन यात्रा हेर्न हल जानुहोला । फिल्म नेपालभरका विभिन्न सिनेमाघरमा लागिरहेको छ ।
फिल्मले बलिउड, हलिउडलाई माथ खुवाउँछ भन्नु कहाँनेर अतिशयोक्ति हुन्न भने फिल्मले हाम्रो शहरको सजिव दृष्यलाई ठ्याक्कै पर्दामा उतार्छ । विदेशी फिल्मको चस्का लागेका दर्शकको मनोभाव परिवर्तन गर्न फिल्मले सशक्त भुमिका खेल्छ ।
फिल्मका निर्देशक डिन्स पाल्पालीले आफूले देखेको कथालाई जस्ताको तस्तै पर्दामा उतार्न सफल भएका छन् । उनको काम उत्कृष्ट छ ।
फिल्मको संवाद सुन्दर छन् । पटकथामा गरिएको मेहनत पर्दामा देखिन्छ । गाउँबाट शहर पसेको तर शहरिया बन्न नसकेको मानिसको भाषाको लवजदेखि उसले बोल्ने संवादसम्म वास्तविकता झल्काउन पटकथाकार सफल भएका छन् ।
फिल्मको खिचाइ सुन्दर छ । यहि फिल्मले थाहा दिन्छ – साँघुरा गल्लीहरु पनि खिच्न जानेमा सुन्दर हुँदा रहेछन् । – गतिलो ढंगले खिच्ने हो भने कपडा च्यातिने गरेर मुक्कामुक्की गरेका दृष्य पनि उडेर किक हाने भन्दा शक्तिशाली हुने रहेछन् ।
त्यस्तै रंगले कथा भन्छ भन्ने नबुझेका फिल्मकर्मीहरुलाई चिसो एस्ट्रेले गरेको मेहनतले पाठ सिकाएको छ । किनभने फिल्ममा पात्रहरुसँग रंगहरुको परिवर्तन छ । डिस्को जाँदा यौन र उन्मादको रंग, काल्पनिक बन्दा स्यामस्वेत । रिस उठ्दा क्रोधको रंग, माया बस्दा मायालु रंग । रंगले दर्शकको इमोशनलाई आफूसँगै बगाउँछ ।
साउण्डमा पनि मेहनत छ । धुन सुनेरै अब केहि हुँदैछ भनेर दर्शकका आँखा उत्साहित हुन्छन् । सम्पादनको काम राम्रो छ ।
अर्को अब्बल पक्ष भनेको कलाकारको अभिनय हो । पात्रहरु वास्तविक छन् । मदनको हरेक चालले दर्शकलाई आफुतिर आकर्षित गर्छ । रोनी (निकुन श्रेष्ठ) र ज्याकी (नविन लम्साल) जस्ता पात्र आफ्नै वरपर घुमिरहेको भान उनिहरुको अभिनयले गर्छ । शालिनताको भुमिका निभाएकी श्रृष्टि श्रेष्ठको चरित्र शक्तिशाली नभए पनि अभिनय यति अब्बल छ कि उनलाई नजरअन्दाज गर्न सकिदैन । बिक्कीको भुमिकामा देखिएका सुशिलराज पाण्डेले पनि आफूलाई अभिनयमा अब्बल साबित गरेका छन् । केमियो रोल भएपनि बबि दाइको भुमिका निभाएका रोबिन तामाङको अभिनय सशक्त छ, उनि आफ्नो काममा इमान्दार देखिएका छन् ।
फिल्ममा प्रशंसा गरेर नथाक्ने दृष्यहरु छन् । जसले भर्खर काठमाडौंको खाल्टोमा छिरेकादेखि यतै स्थापित भइसकेकाहरुलाई नोस्टाल्जिक बनाउँछ ।
सामान्य कमजोरी पनि छ फिल्ममा
गल्लीहरुको कुरा धेरै छ । तर ति गल्लीहरु कसरी निर्माण भए, थाहा छैन । कलाकारको कुरामा गल्लीका कुरा छन् तर त्यो गल्ली कुन हो दर्शकले पत्ता लगाउन सक्दैनन् ।
अर्को चुकेको पाटो भनेको टाइम फ्रेम पनि हो । फिल्ममा समय देखाउन सकिएको छैन । २०७२ सालको भुकम्प पछि काठमाडौं छिरेको मदनलाई बदलिएको देखाइएको छ तर समयलाई वेवास्ता गरिएको छ ।
फिल्मको अन्तिम दृष्यमा ज्याक्की र मदनको फाइट अलि लामो छ । केहि समयको लडाईँलाई घटाएको भए गज्जव हुन्थ्यो । तर लम्बेतानको फाइटलाई अल्छि नलाग्ने प्रयास भने प्रसंशनिय छ । गीत गाइरहेको दृष्य, फाइटलाई सो मानेर हेर्न बसेकाहरु पात्रहरुको हाउभाउ अनि बर्षा । जब द्वन्द चर्कँदै जान्छ, बर्षाको मात्रापनि बढ्दै जान्छ । जव लडाई सकिन्छ, बर्षा थामिन्छ । दृष्य लामो भएपनि पट्यार नलाग्ने बनाउन सक्नु राम्रो हो ।
कमजोरीलाई अभिनयले छायाँमा पारेको छ । जुन फिल्मको सशक्त पाटो हो । लामो समयपछि नेपाली फिल्ममा गतिलो प्रयास भएको छ । जुन सम्मानयोग्य छ ।
दुर्भाग्य, क्युएफएक्स हलहरुले फिल्मलाई शो टाइम खासै दिएका छैनन् । जम्मा दुईओटा हलले दिनको एक शो दिएको छ । धेरै शो बलिउड फिल्म कश्मिर फाइल्सले लगेको छ । उत्कृष्ट फिल्मलाई हलले शो टाइम नदिनु दुखद पक्ष हो ।