क्लोज-अप : नेपाली फिल्म क्षेत्रसँग नजिक्याउने एक कोशिस

-गणेश कार्की-

‘नेपाली फिल्म क्षेत्रको एकमुस्ट दस्तावेज छँदै छैन वा भए पनि अभाव छ र यसमा कसैले ध्यान दिएको वा परिश्रम गरेको नै छैन ।’

माथिको भनाई केहिदिन अगाडिसम्म सत्य हुन सक्थ्यो । अहिले सत्य थोरै भए पनि फरक छ । जीवन पराजुलीको पुस्तक क्लोज-अपले नेपाली फिल्म क्षेत्रलाई नजिकबाट हेर्ने तृष्णालाई थोरै भए पनि पुरा गर्ने कोशिस गरेको छ । यो पुस्तक नेपाली क्षेत्रको एकमुस्ट दस्तावेज नभए पनि दस्तावेजको मानक बन्न सक्छ । र, कसैले परिश्रम नै गरेन भनेर अब भन्न पाइने छैन ।

पुस्तकको परिचय :

पुस्तक गैरआख्यान विधाको हो । यसमा नेपाली फिल्म क्षेत्र सम्बन्धित नयाँ पुराना कलाकार तथा सम्बद्ध व्यक्तित्वहरुको अनुभव समेटिएको छ । ति अनुभवहरुलाई पुस्तकमा लिपिबद्ध गर्न पत्रकार जीवन पराजुली परिश्रमको सिञ्चन गरेका छन् । अर्का पत्रकार दीपेन्द्र लामाले पुस्तकको सम्पादन गरेका छन् ।

३६३ पानाको पुस्तकको बिषय सूचि हेर्दा ५९ जना नयाँ र पुराना कलाकर्मीहरुको विगत, संघर्ष, उपलब्धीका बारेमा लेखिएको छ भन्ने देखिन्छ । तर पुस्तकमा ‘राजेश हमाल : युगदेखि युगसम्म’ भनेर रएउटा फरक खण्ड राखिएको छ जसमा राजेश हमालका अतिरिक्त करिष्मा मानन्धर लगायत केहि अन्यको बारेमा पनि लेखिएको छ भने आसिफ/असिम शाहलाई एकै शिर्षकमा समेटिएको छ ।

किन यो क्लोज-अप

नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित वा नेपाली कलाकारका बारेमा जानकारी केहि अघिसम्म पनि खोज्न सम्भव नै थिएन । गुगलमा एक सर्च गर्दा अरु देशका फिल्म वा कलाकारहरुको साना देखि ठुला सबै किस्साहरुको नालीबेली पाउन सकिने अवस्था हुँदासम्म पनि नेपाली फिल्म क्षेत्रका बारेमा जानकारी पाउन सकिदैन थियो ।

अहिले गुगल गर्नुहोस्, विकिपेडियामा केहि जानकारीहरु पाइन्छन् । युट्युबमा भिडियोहरु केहि जानकारीहरु पाउन सकिन्छ । पर्याप्त छैनन् तर अहिले केहि जानकारीहरु छन् । तर ति जानकारी र सन्दर्भहरुको आधिकारिकता के हो भन्ने बारेमा भने ति सामग्रीहरु मौन छन् । सन्दर्भ स्रोतहरु पुष्टि गर्न सकिने अवस्थाका कम छन् । पत्रपत्रिकाका छिटफुट अन्तर्वार्ता तथा लेखहरु संग्रह गर्न वा एकमुस्ट पाउन गाह्रो छ । लगभग असम्भव भने हुन्छ ।

जीवन पराजुलीको क्लोज-अपले कलाक्षेत्रका व्यक्तित्वहरुको आधिकारिक अनुभव किताबमा ल्याइदिएको छ । यसले गर्दा अबका दिनमा कुनै पनि कलाकारहरुका सन्दर्भहरुलाई कसरी आधिकारिकता दिन सकिन्छ भन्ने बारेमा एउटा नयाँ बाटो खुल्छ ।

यसै पुस्तकमा सम्पादक दीपेन्द्र लामा पुस्तकमा लेख्छन् – ‘फिल्मकर्मीहरुका परिचय, प्रवेश, भोगाइ र बुझाइलाई किताबमा उतारिएको छ । यी सामग्रीले नेपाली चलचित्र उद्योगलाई बेग्लै आयामबाट बुझाउन मद्दत गर्छन् ।’

यसकारण सुन्दर छ क्लोज-अप

क्लोज-अपले नेपाली फिल्म क्षेत्रका जानकारीहरुलाई पुस्तकमा ल्याएर कालजयी र आधिकारिक बनाएको छ । त्यस्तै, फिल्म क्षेत्रका व्यक्तित्वहरुको भोगाइ र अनुभवहरुलाई मात्रै अगाडि ल्याएको छैन, यसले ति कलाकारहरुको भोगाइसँगसँगै बग्ने पाठकहरुलाई नेपाली फिल्मको ऐतिहासिक रुपरेखा पनि देखाउँछ ।

‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’ भन्ने पहिलो खण्डमा यादव खरेलले एक प्रसंगमा भनेको कुरा लेखिएको छ – “राजाले २०१७ सालमा पञ्चायत व्यवस्था लागू गरे पछि उक्त व्यवस्थाको प्रचारप्रसार अनि राजसंस्था र राष्ट्रियता भनेको एकै हो भन्ने धारणा आमजनतामा पुर्याउनका लागि ती फिल्म बनेको देखिन्छ ।”

यसैले पहिलो खण्डलाई यादव खरेल र चेतन कार्कीको अनुभव मात्रै ठान्नु किताबप्रतिको न्याय हुदैन । त्यो खण्डमा नेपाल त्यो समयक्रममा कहाँ थियो ?, नेपाली समाज वा राज्यको नै कलासंस्कृतिको आधुनिकरण र व्यवसायीकरणको चेत कसरी मूर्त बन्यो ? आदि भन्ने पनि थाहा पाइन्छ । त्यो सँगसँगै पदका छिनाझपटी तथा राज्यसत्ताले कलासंस्कृतिलाई आफ्नो बचाउमा कसरी प्रयोग गर्छ भन्ने जानकारी पनि पाइन्छ ।

त्यस्तै, राजेश हमाल महानायक हुन् वा होइनन् भन्ने बहसले बेला बेला नेपाली समाज तात्ने गर्छ । जीवन पराजुलीले राजेश हमालका लागि बेग्लै खण्ड छुट्याउनुको कारण त्यो बहसलाई ‘क्यास’ गर्न मात्रै खोजेका हुन् कि वास्तवमा राजेश हमाल हुनु वा नहुनुले फिल्म क्षेत्रमा कति फरक पार्यो भन्ने लेखाजोखा पनि गरेका हुन् भन्ने थाहा हुन्छ । र, राजेश हमाललाई महानायक भनिनु अतिशयोक्ति हो कि त्यो समयको सम्मान हो भन्नेमा पनि थप प्रकाश पार्छ ।

अझ अचम्म लाग्ने कुरा के छ भने राजेश हमालका बारेमा थाहा नपाउने सायदै नेपाली होलान् । उनका जोक्सदेखि उनका हरेक सन्दर्भहरुको बारेमा धेरै कुरा सार्वजनिक भइरहन्छन् । तर यो खण्डमा ति कहिलै नखुलेका पाटाहरु पनि छन् । यो खण्ड पढ्दै गर्दा लाग्छ, राजेश हमाललाई भर्खर पो चिन्दै रहेछु । मानौँ कि राजेश हमाल कुनै मान्छे नभएर प्याज हो, जो पत्रपत्रमा बाँचेको छ र उसका सबै पत्रहरु खोलिसक्न सम्भव छैन ।

अनि, नेपाली फिल्म क्षेत्रले मेचीपारीका नेपालीभाषीहरुलाई बिर्सिने हो वा नेपाली कलासाहित्यमा त्यताका नेपालीभाषीहरुलाई हटाउने हो भने त्यो अपुरो हुन्छ । ति समेटिए भने एकहदको पूर्णता पाइहाल्छ । लेखक पराजुलीले ‘भारतबाट नेपाली चलचित्र: सीमानाले अलग, भाषा र सिर्जनाले एक’ भन्ने खण्डमा १३ जना गैरनेपाली ‘नेपाली कलाकार’हरुलाई समेटेका छन् ।

त्यस्तै, ‘साँघुरो छ आधा आकास’ भन्ने खण्डमा पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठदेखि पछिल्लो पुस्ताका सबु सुवेदीसम्मलाई समेटेका छन् । नेपाली फिल्म क्षेत्रमा महिलाहरुको हस्तक्षेपकारी भुमिका कति फितलो छ भन्ने यो खण्डले देखाउँछ भने किताब पुरै पढेर महिलाको भुमिका खोज्ने हो भने त्यसले छर्लङ्गै पार्छ ।

‘चलचित्र निर्देशनमा चौथो अंग’ फिल्मी क्षेत्रका पत्रकारहरु, पत्रकारिता छोडेर फिल्मी क्षेत्रमा लागेकाहरुलाई समेटिएको छ । यहि खण्डमा नयनराज पाण्डे जस्ता वरिष्ठ साहित्यकारहरुको बारेमा पनि पढ्न पाइन्छ ।

र, अन्त्यमा खण्ड यस्ता दुई कलाकर्मीहरुको बारेमा छ, जसलाई धेरैले गैरनेपाली कलाकार भन्ने सम्झिन्छन् तर ति नेपालमै जन्मिएका थिए । ति हुन्, शम्भु प्रधान र मुरलीधर । शम्भु प्रधानको दुखेसो छ – ‘मलाई गैरनेपाली भन्ठान्छन् तर म नेपालमै जन्मिएको हुँ र नेपाली हुँ ।’

यसरी हेर्ने हो भने ६ खण्डमा बाडिएको पुस्तकले सुरुदेखि अहिलेसम्म र फरक फरक पृष्ठभुमिका कलाकर्मीहरुलाई सर्लक्कै समेट्न सकेको छ ।

क्लोज-अप पुस्तकका कमजोरीहरु

पुस्तक क्लोज-अपले नेपाली फिल्मको जानकारी दिन्छ, ठिक छ । पुस्तक क्लोज-अपले कलाकर्मीबाट व्यक्तिगत भोगाइ र अनुभव बताउँदा बताउँदै उनीहरुलाई पत्तै नदिइ नेपाली कलाक्षेत्रको इतिहासदेखि वर्तमानसम्मको रुपरेखा निकाल्छ, ठिक छ । पुस्तक क्लोज-अपले खण्ड खण्डमा फरक फरक ‘वर्ग’ कलाकर्मीहरु समेटेर सिंगो कलाक्षेत्रको झाँकी बनाएको छ, ठिक छ ।

तर ति सबै कुराहरु सत्य हुन् कि होइनन् ? पुस्तक क्लोज-अपले त्यसको सत्यता पुष्टि गर्न भने कसरत गरेको देखिदैन, यो ठिक छैन ।

कलाकर्मीहरुको भोगाइ र अनुभवहरु समेटिरहदा तत्कालिन समयका अन्य स्रोतहरुबाट पुष्टि हुने सामग्रीहरु राख्न सकेको भए यो पुस्तकको स्थान अर्कै वर्गीकरणमा पर्थ्यो । यसमा लेखक चुकेका छन् ।

त्यस्तै, यो पुस्तकको सूचिमा परेका कलाकर्मीहरु नै किन छानिए भन्ने बारेमा लेखकले कतै भनेका छैनन् । गोपाल भुटानी, गोपालराज मैनाली, भुवन केसीहरु नसमेटिनु न्यायपुर्ण देखिदैन । तर लेखकले लेखेका छन् – ‘मैले विभिन्न कालखण्डका ६० भन्दा धेरै व्यक्तित्वसँग संवाद गर्दै यो पुस्तक तयार पारेको छु । …. यो एउटा सुरुवात मात्रै हो । पुस्तकलाई पहिलो खण्डका रुपमा लिन सकिन्छ । … चलचित्रको इतिहास झल्किने धेरै कुराहरु लेख्न बाँकी छन् ।’ यसले आफ्नो छनौटका बारेमा नभने पनि लेखकले पुस्तकको अपुर्णताका बारेमा भने संकेत दिएका छन् । यसले लेखकलाई धेरै प्रश्नहरुबाट केहि बचाएको छ ।

अन्त्यमा, नेपाली फिल्म कर्मीहरु वा नेपाली फिल्म क्षेत्रका बारेमा थोरै पनि चासो हुनेहरुले पढ्दा हुने पुस्तक हो जीवन पराजुलीको क्लोज-अप ।

Leave a Reply