आरआरआर : कमजोर र दोहोरिएको कथामा एसएस राजामौलीको रोमाञ्चक जलप, बाहुबलीसँग तुलना गर्दा (कथा सहित)

साहरुख खानको केहि फिल्महरुमा एउटा ‘डायलग’ दोहोरिन्छ – ‘नाम तो सुना हि होगा ।’ आरआरआरको बारेमा लेख्दा शाहरुख खान जोड्न आवश्यक नै थिएन, किनभने यो फिल्ममा नाम जोडिएको छ, एसएस राजामौलीको । तर भन्न खोजेको चै हो भने, एसएस राजामौली, नाम तो सुना हि होगा ।

मागाधिरा, बाहुबली जस्तो फिल्मका निर्देशक भइसकेका एसएस राजामौली अहिले भारतीय सिनेमाका यस्ता निर्देशक हुन्, जसलाई फिल्मको पोस्टरमा राख्न सकिन्छ र उनलाई देखेर दर्शकहरु हलसम्म पुग्न आतुर हुन्छन् । यसैले राजामौलीको फिल्मले दर्शक तान्छ भनिराख्न पर्दैन । त्यसमा रामचरण, जुनियर एनटिआरको पनि सहभागिताले फिल्मलाई दर्शकको आतुरताका हिसाबले माथिल्लो तहमा पुर्याएको थियो ।

कलाकारहरुको प्रस्तुति कस्तो छ ?

फिल्ममा जुनियर एनटिआर र रामचरण यसरी छाएका छन् कि दुई मध्ये को अब्बल छ भन्नेमा घण्टौँ बहस गर्न सकिन्छ तर नतिजामा पुग्न गाह्रो छ । पटकथाहरु एक पछि अर्को हुँदै जाँदा जुनियर एनटिआर र रामचरण एक भन्दा अर्को अब्बल र अर्को भन्दा फेरि पहिलो अब्बल बन्ने ग्राफ बन्दै जान्छ ।

पात्रका रुपमा हेर्ने हो भने एनटिआर उनको भुमिका जस्तो फिल्मको मुटु जस्तो हुन्, जो धेरै भावनामा विश्वास गर्छ र फिल्मको भावनात्मक भाग धेरै जसो एनटिआरको भागमा परेको छ । यसले गर्दा दर्शकहरु एनटिआरसँग आत्मिय अनुभव गर्छन् । रामचरण फिल्मका दिमाग हो र उनलाई फिल्ममा रणनीतिकार जस्तो देखिन्छ । एउटा मिसनमा निस्किएको सिपाही जो भावनासँग वास्ता गर्दैन र जसको लागि मिसन नै सबै भन्दा ठुलो कुरा हुन्छ । यसका लागि रामचरणको स्टाइल र उपस्थिती पनि उत्तिकै सहज र उपयुक्त देखिन्छ ।

जुनियर एनटिआर र रामचरणले आफ्नो फिल्मी करिअरकै उत्कृष्ठ अभिनय गरेका छन् भन्दा अत्युक्ति हुदैन । आलिया भट्ट र अजग देवगनको भुमिका सानो छ तर पनि मजबुत छ । अजय देवगनको एकैछिनको भुमिका पनि सम्झनलायक छ । त्यस्तै ब्रिटिस अधिकारी स्टक दम्पतिका रुपमा रहेका रे स्टेभेन्सन र अलिसन डुडीले आफ्नो पात्रप्रति न्याय गरेका छन् ।

प्राविधिक पक्षका बारेमा

प्राविधिकरुपमा आरआरआरमा खोट लाउने ठाउँ कमै भेटिन्छ । भिएफएक्सको अधिकतम प्रयोग गरिएको छ र यसरी प्रयोग गरिएको छ कि, त्यसले राजामौलीको कल्पनाशिलतालाई झन् मूर्त बनाएको छ । द्धन्द तथा नृत्यले पनि दर्शकलाई पर्दातिर ध्यान दिइरहन बाध्य बनाउँछ । नाचो गीतका स्टेपहरु पहिले नै चर्चित भइसकेर धेरै पल्ट हेरिसकेको भए पनि पर्दामा उस्तै नयाँ लाग्दा छन् ।

कमजोर र पटक पटक दोहोरिएको मुलकथा

अब थोरै कथाका बारेमा कुरा गरौँ । कथाको बिषयमा नयाँपन केहि छैन । हामीले पटक पटक हेरिसकेको बिषयमा नै राजामौलीले फिल्म बनाएका छन् । फिल्ममा खलपात्र ब्रिटिसराजका प्रतिनिधि छन् भने नायकका रुपमा भारतीय गाउँलेहरु । यो यस्तो बिषय हो, जसमा भारतीय फिल्म उद्योगले दर्जनौँ पटक दर्जनौँ तरिकाले फिल्म बनाइसकेको छ । तर यो राजामौलीको फिल्म हो । पटक पटक भनिसकेको कथालाई कुन जलप लगायो भने नयाँ देखिन्छ र दर्शकलाई मनोरञ्जन हुन्छ भन्ने राजामौलीलाई थाहा छ ।

राजामौलीले ब्रिटिस र भारतीयको द्ध्नद्धलाई बिषय बनाएर पहिलो भावनात्मक आत्मियता जोडेका छन् भने मुसलमान पात्रलाई पनि फिल्ममा सम्मानित स्थान दिएका छन् । त्यस्तै राम, सीता र भिमलाई पनि हिन्दु शास्त्रका रुप अनुसारकै झाँकीमा प्रयोग गरेका छन् । कुनै कुनै दृष्यहरु यस्ता छन् कि हिन्दुवादीहरुले हलमा नै जयश्री रामको नारा लगाउन सक्छन् ।

एक सानी बच्ची मल्लीले ब्रिटिस महिलाको हातमा चित्र बनाउछे । त्यो ब्रिटिस महिला ब्रिटिसराजको मुख्य प्रतिनिधि स्कटकी श्रीमती हुन्छे । उसलाई चित्र मन परे पछि बच्चीलाई नै जबरजस्ती आफुसँग लैजान थाल्छे । रोक्न खोज्ने बच्चीकी आमालाई दर्दनाक किसिमले मारिदिन्छन् ।

केहि महिना पछि दिल्लीमा खबर पुग्छ कि बच्ची एक आदिवासी समूहकी सदस्य हो र उसलाई बचाउन आदिवासी समूहको मान्छे दिल्ली आएको छ । यो खबरलाई त्यति जोखिमतापुर्ण त मानिदैन तर ब्रिटिसराजको प्रतिनिधिलाई हानी पुर्याउन खोज्ने मान्छेलाई त्यसै छोड्न पनि तयार हुदैनन् । यसैले खबरमा मात्रै थाहा भएको तर कसैले नदेखेको पात्रलाई खोज्न उपयुक्त मानिस खोज्छन् ।

केहि समय पहिले गाउँले विद्रोहीहरुको आक्रमणलाई निस्तेज पारेको ब्रिटिस प्रहरी राम (रामचरण)लाई जिम्मा लाउँछन्, मृत ल्याएमा इनाम र जिउँदो ल्याएमा विशेष प्रहरीमा बढुवा गरिदिने शर्त सहित । प्रहरी राम एकदमै बर्बर हुन्छ । राम आफु भारतीय भए पनि ब्रिटिसलाई बचाउन जति पनि भारतीयहरुलाई पिट्न र मार्न तयार बन्ने किसिमको हुन्छ । र, उसले खोज्नु पर्ने मानिस हुन्छ, भिमा (जुनियर एनटिआर) ।

भिमा र उसका साथीहरु दिल्लीमा त आउँछन् तर उनीहरुले सानी बच्ची मल्लीको बारेमा केहि पनि थाहा पाउन सकेका हुदैनन् । यसैले भुमिगतरुपमा बसेका हुन्छन् । भिमा मुसलमान भएको हुन्छ र उसको नाम हुन्छ अख्तर ।

यस्तैमा एकपल्ट पुलमा भएको एउटा रेल दुर्घटनामा एउटा सानो बच्चाको जीवन जोखिममा पर्छ । भिमा र राम मिलेर त्यो बच्चालाई जोगाउँछन् । योसँगै भिमा र रामको मित्रता सुरु हुन्छ । भीम एउटी ब्रिटिस युवती जेनी जो स्टककी छोरी हुन्छे, उसलाई मन पराउँछ । रामले अनेक तिकडम लगाएर भिम र त्यो युवतीको सम्पर्क गराइदिन्छ र तिनले भाषा नबुझे पनि एकअर्कालाई मन पराउन थाल्छन् । उहि जेनीबाट भिमले मल्लीको बारेमा थाहा पाउँछ भने मल्लीसम्म पनि पुग्न सक्छ ।

तर त्यहि बिचमा रामले भिमको भुमिगत साथीलाई पक्रिन्छ । पक्राउ परेको भिमको साथीले रामलाई सर्पले टोकाइदिन्छ र एक घण्टामा राम मर्नेवाला हुन्छ । मर्न लागेको राम भिम भएछेउमा पुग्छ र भिमले देख्छ । आफ्नो आदिवासी ज्ञान र जडिबुटीको प्रयोग गरेर भिमले रामलाई बचाउँछ । उपचारकै क्रममा रामले अख्तर बनेको भिम नै हो भन्ने शंका गर्न थाल्छ तर भिमले आफैले रामलाई आफु मल्लीलाई बचाउन आएको भनिदिन्छ ।

मल्लीलाई छुटाउन त्यहि रात भिम र उसका साथीहरु जान्छन् । भिम र उसका साथीहरुले गाडीमा दर्जनौँ जंगली जनवारहरु लगेका हुन्छन् । उनीहरुले स्टकको आगनमा ति जनावार छोडिदिन्छन् । जंगली जनावारको र भिमहरुको आक्रमणमा ब्रिटिस सेना प्रहरीको केहि लाग्दैन । भिमले मल्लीलाई छुटाउन लागेको हुन्छ तर त्यहि बेला राम पुलिसको पोसाकमा आउँछ । रामलाई सुरुमा भिमले पुलिस हो भनेर पत्याउदैन तर रामले उसलाई पक्राउ गर्न खोजे पछि दुईजनाबिचमा घमासान फाइट हुन्छ । अन्तिममा, आत्मसमर्पण नगरे मल्लीलाई मारिदिन्छु भनेर रामले भिमलाई पक्राउ गर्छ ।

भिमलाई सबै जनताहरुको बिचमा फाँसी दिइने बताइन्छ तर फाँसी दिनु भन्दा अगाडि आफ्ना सामू घुँडा टेकेर गिडगिडाएको हेर्न चाहन्छु भनेर स्टककी श्रीमतीले जिद्दी गर्छे । घुँडा टेकाउने जिम्मा रामको हुन्छ । रामले माफी माग्न अनुनय विनय गर्छ तर भिमले मान्दैन । रामले चाबुकले हान्छ । पछि फलामको काटी भएको चाबुकले हानेर रगतपच्छे बनाउँछ । तर पनि भिमले माफी माग्दैन । त्यो दर्दनाक सजाय देखेर त्यहाँ विद्रोह हुन्छ तर रामले भिमलाई गाडीमा हाल्छ र ब्रिटिशलाई नै सुम्पन्छ ।

तर आफ्नो प्रिय साथीमाथि यो सबै भइरहदा रामलाई नराम्रो लाग्न थाल्छ । अनि रामले आफ्नी प्रेमिका सीता (आलिया भट्ट) लाई चिठ्ठी लेख्छ । चिठीमा रामले आफ्नो मिसनमा सफल हुन लागेको र ब्रिटिसको विरुद्धमा विद्रोह गर्ने बेला हुन लागेको भनेर लेखेको हुन्छ । यति बेलासम्म दर्शकलाई रामको बारेमा केहि थाहा हुन्न तर भएको के हुन्छ भने राम पुर्वब्रिटिस प्रहरीको छोरा हुन्छ । रामको बुबाले ब्रिटिससँग विद्रोह गरेर एउटा राइफल र केहि गोली सहित भागेको हुन्छ । उसले गाउँलेहरुलाई तालिम दिएर ब्रिटिसका विरुद्धमा लडाइ गर्न संगठित गर्दै हुन्छ । राम सानै हुन्छ तर त्यहि बेला सबै भन्दा राम्रोसँग निसाना लगाउन सिकेको हुन्छ ।

एकदिन तालिमकै क्रममा ब्रिटिसहरुले आक्रमण गर्छन् । रामको भाई र आमालाई पनि मारिदिन्छन् । रामको बुबाको पनि त्यहि मृत्यु भएको हुन्छ तर उसले आफ्नो छोरालाई विद्रोह जारी राख्ने कसम लिएको हुन्छ । रामले हतियार नभएर युद्ध नजितेको यसकारण आफुले हरेक मानिसको हातमा हतियार पुग्ने गरेर हतियार ल्याएरै छोड्ने बाचा गरेको हुन्छ । यहि बाचा पछि आफ्नो शरिरमा बम बाँधेर रामको बुबा ब्रिटिसहरुको कब्जामा पर्छ र पर लुकेर बसेको रामलाई आफु माथि गोली चलाएर ब्रिटिस सेनालाई मार्न भनेको हुन्छ । आफ्नो बुबाको त्यो आत्मघाती आक्रमणले राम कठोर भएको हुन्छ ।

उसको इच्छा हुन्छ कि ब्रिटिस प्रहरीको त्यो पोस्टमा पुग्ने जुन पोस्टमा पुगे पछि हतियार ओसार्ने जिम्मेवारी पाइयोस् । भिमलाई समाते पछि रामले त्यो पद पाउँछ र केहि दिनमा हतियारको गाडीमा कतै लैजानु पर्ने हुन्छ जसलाई योजना बमोजिम लुट्ने भन्ने हुन्छ । तर लक्ष्यको त्यति नजिक पुगे पछि पनि साथीको कारण उसले विचार बदल्छ । बरु सजाय दिइएको दिन भिमको गीतबाट प्रेरित भएर आममानिसले विद्रोह गरेको उसलाई सहि बाटो भन्ने लाग्छ । यसैले जसरी पनि भिमलाई बचाउने ठान्छ र भिमलाई भगाउने तयारी गर्छ ।

तर भिमलाई भगाउनु भन्दा पहिले नै स्टकले थाहा पाउँछ । तर जसोतसो योजना अगाडि बढ्छ । अन्तिममा मल्लीलाई लिएर भिम भाग्न लागेको हुन्छ तर त्यहि बेला अगाडि परेको रामलाई चिर्पटले टाउकोमा हानेर भिमले ढालिदिन्छ । भिमलाई रामले आफुलाई बचाएको भन्ने थाहा नै हुदैन र थाहा नपाइ मल्लीलाई लिएर भाग्छ ।

रामलाई ब्रिटिसहरुले पक्राउ गरेर भयानक सजाय र दुख दिएर राख्छन् । घुँडामा प्रहार गरेर हिड्न नसक्ने बनाइदिन्छ । भिम र उसका साथीहरु दिल्लीबाट भागिसकेका हुन्छन् तर ब्रिटिसहरुले उसलाई खोज्न थाल्छन् । एउटा मन्दिरमा बसेका बेला त्यहि ब्रिटिसहरुले छापा मार्छन् तर सीताले उनीहरुलाई जोगाइदिन्छे । सीतासँग कुरा हुँदाहुँदै भिमले रामको बारेमा सबै कुरा थाहा पाउँछ । सीतालाई ब्रिटिसले रामलाई दुई दिन पछि फाँसी दिने, लाश लिन आइज भनेर चिठ्ठी लेखेको हुन्छ । त्यो चिठ्ठी, सीता र रामको मालाले गर्दा भिमले त्यो सबै कुरा पत्याउँछ र आफुले कुरा नबुझेको भनेर आफैसँग रिसाउँछ । अनि, रामलाई छुटाउन फेरि दिल्ली फर्किन्छ ।

दिल्लीमा पुगेर रामलाई भेट्छ । भगाउन लाग्दा ब्रिटिसका सेनाले थाहा पाउँछन् । त्यसपछि अन्तिम र भयानक युद्ध हुन्छ । अन्तिम युद्धमा राम र भिम भएर स्टकको दरबारमा भएको हतियार खानामा आगो लगाउँछन् । दरबार भत्किन्छ र त्यसमा परेर स्टककी श्रीमतीको मृत्यु हुन्छ । स्टकलाई गोली हानेर भिमले मारिदिन्छ ।

बाहुबली र आरआरआर कुन राम्रो ?

बाहुबली र आरआरआर दुवै फिल्म यथार्थ भन्दा धेरै पर छन् । ब्रिटिसराजको कथा देखाए पनि आरआरआर स्वैरकाल्पनिक फिल्म नै हो । यसमा आममानिसका मानविय संवेदना त छ तर पात्रहरु आममानिस जस्ता छैनन् । जादुइरुपमा बलिया लाग्छन् । बाहुबलीसँग पात्रहरुका बल र स्वभाव तुलना गर्न सकिन्छ ।

तर बाहुबली कथामा पनि धेरै नयाँपन लाग्छ, जुन आरआरआरमा लाग्दैन । तर रमाइलोको हिसाबमा आरआरआरले पनि फिल्म हेरुन्जेल बाँधिराख्छ भने कतिपय दृष्यहरुले जुरुक्कै उचाल्छन् ।

अन्तिममा

आरआरआरलाई ध्यान दिएर सोच्ने हो भने पहिले नै बनिसकेका बलिउड र हलिउडका फिल्महरुको मिश्रण जस्तो लाग्छ । यो आमिर खानको फिल्म लगान जस्तो ब्रिटिस र भारतीय गाउँलेको द्धन्द्धमा आधारित छ । सलमान खानको फिल्म बजरंगी भाइजान जस्तो सानी बच्चीलाई घरसम्म पुर्याउदा हुने दुस्मनसँग द्ध्नद्ध जस्तो लाग्छ । हलिउड फिल्म अवतारमा नायकले अन्तिममा जंगली जनावारहरुलाई युद्धमा ल्याए जस्तो वा एभेन्जर इन्डगेमको अन्तिमतिर सबै सुपरहिरो र सेनाहरु आए जस्तो गरेर यसमा ट्रकबाट जंगली जनावारहरु निस्किन्छन् । कुनै धार्मिक फिल्ममा जस्तो अन्तिममा ‘भगवान रामको अनुकम्पा’ जस्तै गरेर रामले धनुकाँण चलाउन थाल्छ ।

तर गजब के छ भने फिल्म हेरिरहदा यी दृष्यहरुले अरुतिर सोच्ने समय कमै मात्र दिन्छन् ।

रेटिङ
कथा : २.५
अभिनय : ४.५
मेकिङ : ४.५
फिल्म : ४

Leave a Reply