-सुनिल सङ्गम, लिस्बोन पोर्तुगल-
नेपाली गीत सङ्गीतको कुरा गर्दा कदापि इतिहास भुल्न सकिन्न । सेतु राम, ओस्ताद साईला र मेलुवा देवीबाट सुरु भएको नेपाली गीत सङ्गीतको बिकास क्रम रेडियो नेपालको स्थापना सँगै आधिकारिक रुपमा अगाडी बढेको पाइन्छ । रेडियो नेपालको पहिलो गायक हरि प्रसाद रिमाल संगै माणिक रत्न, मास्टर रत्नदास प्रकाश, पुष्प नेपाली, बच्चु कैलाश, शिव शंकर र नाती काजी जस्ता गायक सङ्गीतकारहरुले नेपाली गीत सङ्गीत क्षेत्रको सुरुवाती योगदान दिए । त्यस पछि धर्म राज थापा, अम्बर गुरुङ, फत्तेमान, प्रेमध्वज प्रधान, नारायण गोपाल, गोपाल योञ्जन, तारा देबी, अरुणा लामा, भक्तराज आचार्य, अरुण थापा, कुमार बस्नेत, झलक मान गन्दर्भ लागायतका गायक गायिकाहरुले नेपाली गीत सङ्गीतलाई फूलाउने फलाउने काम मात्र गरेनन् सो समयलाई स्वर्णिम युग कै रुपमा बदलिदिए ।
२० को दशक देखि ४० को दशक सम्मको युगलाई नेपाली गीत सङ्गीतको स्वर्णिम युग मानिन्छ । यति बेलाका गीत सङ्गीतहरुको आज पनि त्यत्तिकै चर्चा र महत्व छ । त्यस पश्चात सम्भुजित बास्कोटा, दीप श्रेष्ठ, सिलाबहादुर मोक्तान, कुन्ती मोक्तान, मिरा राणा, ओम बिक्रम बिष्ट, राम थापा, प्रकाश श्रेष्ठ, रबिन शर्मा, लगायतका गायक गायिकाहरुले निरन्तरता दिदै थप योगदान दिए भने ओम बिक्रम बिष्टले फरक शैली भित्र्याईदिएर पप सैलिको गीतको पहिलो गायक हुन पुगे । आज त्यही धारमा अहिलेका युवा पुस्ताहरु मस्त झुमी रहेका छन् । ओम बिक्रम बिष्टले भित्र्याई दिएको पप शैली भित्र पनि आजभोली रयाप, हि-पप, रक आदित्यादि शैलिहरु भित्रि सकेका छन् ।
तर पनि नेपाली संगीत उद्योग धरासायी भइरहेको छ, जसलाई यसरी हेर्न सकिन्छ ।
४० को दशक पछाडी मात्र नेपाली गीत सङ्गीत व्यवसायिक तर्फ उन्मुख भएको पाइन्छ । २०४६ सालको राजनीतिक परिवर्तन पछि संचार क्षेत्रको बिकाश संगै नेपाली गीत सङ्गीतले पनि तिब्र रुपमा व्यवसायिक हुदै ५० को दशक पछाडी राम्रो बजार बनाएको पाईन्छ । यसको प्रमुख कारणहरु रेकर्डिङ स्टुडियोहरु भकाभक खुल्नु, एफ एम स्टेसनहरु भकाभक सन्चालित हुनु नै प्रमुख कारण हो भने अर्को कुरा चाईनिज उत्पादनले सस्तो सुलभ तरिकाबाट स्थानीय बजारमा क्यासेट प्लेयर तथा सिडी प्लेयर उपलब्ध हुनु पनि हो । यसै बेला केही गायक गायिकाहारुले सङ्गीत क्षेत्रबाटै रोजीरोटीका साथै राजधानी लगायतका सहरहरुमा घर अनि कारसम्म नि जोरजाम गरेका थिए अर्थात उनीहरु सङ्गीतमै ईज्जत साथ बाँचेका थिए । त्यति बेलानै थुप्रै एल्बमहरुले बजारमा बिक्रीको नया रेकर्डहरु बनाएको थियो । प्रेम राजा महत र बम बहादुर कार्कीको ‘पानको पात’ तिलकबम मल्लको ‘परिवेश’ रामकृष्ण ढकालको ‘आशा’ खेम राज गुरुङको “जीवन भाग २ लग्गायतका गीति एल्बमहरुले बिक्रीको हिसाबले नया इतिहास नै बनाएको थियो ।
प्रत्येक होटलहरुमा गजल ग्रुपहरु राखिन्थ्यो त्यस्तै रेस्टुरेन्टहरुमा दोहोरी गीत । दोहोरीको पनि चकचकी थियो त्यो समय ! दोहोरी बिनाको त रेष्टुरेन्ट नै हुदैनथ्यो भन्दा पनि हुन्छ । राम्रो बजारले गर्दा कलाकारहरु गीत सङ्गीतमा इजत साथ बाँच्न सक्ने सुनौलो समयको बिकाश हुँदै थियो त्यो बेला । तर समय कहाँ एकैनासको हुन्छ र ? देशको बिग्रदो राजनीतिक अबस्था, दिनानुदिन विकसित नयाँ-नयाँ प्रबिधिहरुको कारण अनि बढ्दो नक्कली उत्पादनको (पाइरेसी) कारण नेपाली गीत सङ्गीतको बजार खस्कदै/विग्रदै सून्यको स्थितिमा पुग्न लागेको छ अहिले । बग्रेल्ती खुलेका एफ एम रेडियोहरुबाट सित्तैमा नया पुराना सबै खाले गीतहरु सुन्न पाउनु, आफूलाई मन लागेको गीत मात्र छानी-छानी बजारमा अति सस्तो सुलभ कपि गर्न पाउनु, प्रतिलिपि अधिकार सम्बन्धि आवश्यक कडा कानुन् नहुनु, भएको कानून पनि लागु नहुनु, सङ्गीत नै नबुझेका ब्यक्तिहरुको प्रवेश हुनु, सङ्गीतमै लागेकाहरुमा पनि साधनामा कमि आउनु, बिदेशी गीत सङ्गीतले अतिक्रमण गर्नु, बढ्दो महंगीले लागत बढेर एल्बम निकाल्न नसक्नु आदि इत्यादी कारणहरुले नेपाली गीत सङ्गीतको बजार यतिबेला झन्डै-झन्डै सून्यमा आइपुग्न लागेको छ । अहिलेको यस्तो खस्किदो अबस्थामा केही कलाकारहरु विभिन्न बाहानामा प्रवास तिर भासिसकेका छन् । यो क्रम जारि छ भने देशमै रहेका स्थापितहरुले समेत नया एल्बम बजारमा ल्याउन सकिरहेको छैन । अर्को तिर बढ्दो महंगीले गीत सङ्गीतको उत्पादन लागतमा समेत बृद्धी भएको छ । ठुलो लगानी गर्यो तर प्रतिफल सुन्य !
वास्तवमा भन्नु पर्दा अहिलेको नेपाली गीत सङ्गीत त प्रवासीहरुले पो धानेका छन् त ! प्रवासमा बेला बखत प्रबासी नेपालीहरुले गर्ने कार्यक्रमहरुले कलाकारहरुलाई केही राहत मिलेको छ भने त्यही कार्यक्रमहरुको लागि तछाड-मछाड गर्दैछन् कलाकारहरु ! एल्बम पनि विदेश बस्नेहरुले नै धेरै निकालेका छन् ।
अहिले अमेरिका, बेलायत, हंगकंग, अस्ट्रेलिया, जापान, इजरायल, कोरिया, बेल्जियम, पोर्तुगल, जर्मन, फ्रान्स, स्पेन, कतार, मलेसिया आदि देशहरुमा कलाकारहरुलाई भ्याइनभ्याइ छ अनि यीनै देशहरुमा रहेका प्रवासीहरुले जेनतेन धानीरहेका छन् नेपाली गीत सङ्गीतलाई तर के गर्नु देशभित्रको बजार झन् झन् सुन्य हुदै छ । प्रवासकै अनुपातमा देशको साँगीतिक बजार पनि सुध्रिने हो भने नेपाली गीत सङ्गीतको इतिहास फेरि स्वर्णिम हुने थियो । हामी सवै नेपालीहरूले नेपाली गीत सङ्गीतलाई माया गर्दै यही आशा तथा कामना गरौं अनि नेपाली गीत सङ्गीत किनेर मात्र सुन्ने गरौं । सर्जक बाँचे मात्र सिर्जना बाँच्छ । देश, सर्जक र सिर्जनाको सम्मान तथा रक्षा गरौं । यही कामना !
संगीतको यही कुराले मेरो मन छुन्छ ।
पानीफोटोबाट साभार