चलचित्र जगत आफैमा एउटा वृहत क्षेत्र हो । चलचित्रमा काम गर्ने मान्छे पर्दामा देखिने कलाकारमात्र हैन, पर्दा पछाडी काम गर्ने पनि धेरै हुन्छन् । सबैलाई लाग्छ पर्दामा देखिने कलाकारहरुनै चलचित्र तथा कुनै पनि भिडियोका आकर्षण हुन् । तर त्यसो होइन ! पर्दा पछाडी कयौँको जमात हुन्छ, त्यसैमा चलचित्रका लागी एउटा महत्वपूर्ण चिज हो क्यामेरा । क्यामेरा नहुँदो हो त भिडियोको नाम पनि सायद कतै हुँदैनथ्यो होला । क्यामेरा चलाउने सिनेमाट्रोग्राफर नभै कुनै पनि भिडियो तथा चलचित्रलाई सुन्दर र आकर्षक तरिकाले भिडियोमा कैद गर्न सकिदैन । चलचित्र ‘सिसा’बाट सिनेमाट्रोग्राफि गरेका सिनेमाट्रोग्राफर राम कुमार के.सी.ले आफ्नो जीवनमा धेरै संघर्ष गरे । वरिष्ठ सिनेमाट्रोग्राफर राजु बिक्रम थापासँग लामो समय असिस्टेन्टका रुपमा काम गरि राम कुमार के.सी.ले हाल ५० भन्दा बढी म्युजिक भिडियो, ‘सिसा’, ‘हँसिया’, ‘अल्टर’, ‘डेस्टिनि’, जस्ता चलचित्रमा सिनेमाट्रोग्राफर भै काम गरिसक्नुभयो । नेपाली सिने र सिनेमाट्रोग्राफि सम्बन्धि रामकुमार के.सी. सँग कोरीबाटीले गरेको कुराकानी :-
- आजकाल के मा व्यस्त हुनुहुन्छ ?
आजकाल म ‘अल्टर’ भन्ने चलचित्रको काम सकाएर च्याम्स इन्टरटेनमेन्टको २ वटा फिल्म गर्न लागेको छु एउटा चलचित्र वैशाख २९ गते देखि शूटिंग हुदैछ भने अर्को चलचित्र ‘ह्यापी डेज’ पुरै लन्डनमा शूटिंग हुनेछ र त्यसैको तयारीमा छु ।
- तपाइको सिनेमाट्रोग्राफर (छायांकार) बन्ने यात्रा कहिलेदेखि र कसरी सुरु भयो ?
मेरो दिदि बम्बईमा हुनुहुन्छ र म त्यहाँ जाने क्रममा मेरो केहि सिरियलकर्मीसँग भेट भयो र मलाई इन्ट्रेस्ट लागेर मैले केहि नसोची सिनेमाट्रोग्राफीको प्रशिक्षण लिए । प्रसिक्षण लिए पछी मेरो कामलाई मन पराएर त्यहाँका प्रोडूसरहरुले मलाई फोकस कुलरमा चान्स दिए । पछी सहाएक भएर काम गरे र विस्तारै अलि अलि खिच्न थाले र नेपाल आए । बम्बईमा प्रशिक्षण गरेको भने पछी तेतिखेर अरुले चाहिं काम पाउँने गर्थे तर मैले चाही नेपालमा तेती काम पाइन, सायद मैले कसरी गर्नु पर्ने त्यो जनिनथें होला र मैले केहि यस क्षेत्रमा लाग्नेसँग सल्लाह गरे पनि काम पाइन र फोटो स्टुडियो खोले । स्टुडियो खोलेको केहि महिनामै मलाई फिल्ममा स्टिल फोटोग्राफीको अफर आयो र त्यसैमा स्टिल फोटोग्राफी गर्दा गर्दै मलाई त्यसै फिल्ममा असिस्टेन्ट क्यामेरामा लिइयो । अनि धेरै समय असिस्टेन्ट गरे पछी फिल्ममा अचानक चान्स पाए । मेरो पहिलो फिल्म ‘सिसा’ थियो र त्यो सिनेमाटोग्राफी राम्रो भयो । यसरी म यो क्षेत्रमा लागे ।
- धेरै संघर्ष गरेर यो ठाउँ सम्म आइपुग्नु भयो, संघर्ष गरे अनुरुप आफ्नो काम प्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
हुन त म अहिले पनि स्ट्रगल गर्दैछु र सन्तुष्ट त धेरै छु । तर पनि यो क्षेत्रमा लाग्न मैले धेरै स्ट्रगल गरे र मैले जुन क्वालिटी दिन्छु त्यो अनुसार चाहि सन्तुष्ट छैन । किनकि नेपाली चलचित्र जगतमा मान्छेहरुको क्वालिटी अनि प्रतिभालाई त्यति मतलव दिइदैन । यहाँ कामको क्वालिटी भन्दा पनि मान्छेको संगत, सम्बन्ध जस्ता कुरालाई बढी ध्यान दिइन्छ । सायद हामी पनि त्यहाँ भए त्यहि गर्छौं कि ? त्यसले गर्दा चाहिं म पूर्ण सन्तुष्ट छैन ।
- तपाइले चलचित्र देखि लिएर थुप्रा म्युजिक भिडियोमा छयांकन गरि सक्नु भएको छ, चलचित्र र म्युजिक भिडियो खिच्दा के फरक पाउनु भएको छ ? र कुन क्षेत्रलाई तपाई बढी रुचाउनु हुन्छ ?
हुनत म्युजिक भिडियोलाई सामान्य भनिन्छ तर म म्युजिक भिडियोमा पनि धेरै मेहनत गर्छु । मेरो लागी खासै फिल्म र म्युजिक भिडियोमा फरक छैन । तर म यस क्षेत्रमा सुरुमा फिल्मको क्यामेरामेन बन्ने भन्ने बचपनाले लागेको हो र फिल्म को क्यामेरामेन पनि बनियो र फिल्मलाईनै बढी रुचाउछु । किनभने फिल्ममा जस्तै: फाइट, गीत, इमोसनल, कमेडी लगायत सबै चिज छुट्टा छुट्टै तरिकाले खिच्न पाइन्छ ।
- नेपाली सिने जगतमा प्रविधिको अभाव भएको बताइन्छ, एउटा सिनेमाट्रोग्राफर भएको आधारले तपाईं के भन्नु हुन्छ ?
नेपाली सिने जगतको जुन किसिमको मार्केट छ, त्यो हिसाबले प्रविधि धेरै छ । प्रविधि धेरै भए पनि प्रयोग नगर्ने कुरा अर्कै हो । एउटा स्तरीय म्युजिक भिडियो बनाउनु परेमा कुन क्यामेरा प्रयोग गर्ने ? लाइट कुन प्रयोग गर्ने ? जोनी जिप देखि लिएर सबै कुरा नेपालमा छ । तर प्रयोग गर्ने नगर्ने मार्केटमा भर पर्छ । राम्रा प्रविधि प्रयोग गर्दा खर्च बढी लाग्छ तर मार्केट राम्रो छैन । बम्बईमा भन्दा पनि राम्रा क्यामेरा नेपालमा छन् मैले बम्बईमा काम गर्दा नेपालबाट क्यामेरा लगेर पनि काम गरिएको थियो । मैले थाहा पाए अनुसार हालसालै पनि एउटा हिन्दि फिल्ममा नेपालको क्यामेरा लगेर खिचिदै छ ।
- चलचित्र क्षेत्रमा काम गरिसके पछी समयको कुनै भर हुँदैन, आफ्नो परिवारका सदस्यहरुलाई कतिको समय दिन भ्याउनु हुन्छ ? सुरुमा यस क्षेत्रमा लाग्न लाग्दा परिवारको कतिको सहयोग पाउनु भयो ?
दस पाँचको ड्युटी गरेको भए सायद अलि धेरै समय आफ्नो श्रीमती र छोरालाई दिन सक्थे होला । सुटिंगको कामले गर्दा थोरै समय मात्र घरमा दिन सक्छु र त्यो थोरै समयमा धेरै मायाँ बाढ्छौ । मैले परिवारबाट पुरै सहयोग पाएँ । अरुको गार्जेन बाबु आमा हुन्छन तर मेरो गार्जेन भनेको मेरो दिदि भिनाजु हो र वहाँहरुको सपोर्टलेनै म यहाँ सम्म पुगेको हुँ । अहिले पनि मेरो श्रीमती अनि छोराको सहयोग भरपुर पाएको छु ।
- तपाईले बम्बईमा प्रशिक्षण लिनुभयो, हाल नेपालमा धेरै काम पनि गरि सक्नु भयो तर नेपालमा चाँही यसको प्रशिक्षण कस्तो छ ?
मैले थाहा पाए अनुसार प्रयोगात्मक सिकाउने प्रशिक्षक थुप्रा छन्, तर सैदान्तिक कुरालाई पनि जोडेर लैजाने प्रशिक्षकहरु भने कमै छन् । सिनेमाट्रोग्राफीमा प्रयोगात्मक र सैदान्तिक दुवै कक्षा भएमा राम्रो हुन्छ र असरदार हुन्छ ।
- नेपालका केहि चलचित्रमा मल्टी क्यामेरा प्रयोग गरिएको पाइन्छ, तपाइको विचारमा मल्टी क्यामेराले खिच्नु र सिंगल क्यामेराले खिच्नुमा के फरक छ ?
खासमा काममा सहयोग हुने र सटको भेराइटीको लागी मल्टी क्यामेरा प्रयोग गर्ने हो । मल्टी क्याम प्रयोग गर्न सेट-अप लगाएको ठुलो लोकेसन हुनु पर्छ तर नेपालमा त्यस्तो लोकेसन छैन र त्यसैले यहाँ मल्टी क्याम लगाउनुको कुनै अर्थ छैन । तर फाइटका दृश्यहरुमा यो सजिलो हुने गर्दछ, तर सिनमा लगाउदा लाइटको कम्विनेसन मिल्दैन र क्वालिटीमा असर पर्न जान्छ । हामीले सिमित लाईट प्रयोग गरेका हुन्छौ, त्यसका लागी छुट्टै स्टुडियोमा जहाँ राम्ररी लाइटिंग गर्न सकियो भने त्यहाँ त्यो उतम हुन्छ । तर नेपालमा त्यसको अभाव छ ।
- यो क्षेत्रमा तपाइले आफ्नो गन्तव्य के सोच्नु भएको छ ?
म दाममा भन्दा नाममा विश्वास लागेर यस क्षेत्रमा लागेको हुँ । दाम त सबैलाई चाहिन्छनै तर दाम भन्दा नाम धेरै पाएमा म त्यसमा बढी सन्तुष्ट हुन्छु । यो कामबाट मलाई एक जोर लुगा लाउन, गुड्न, सुत्न, खान, छोरा/छोरी पढाउन पुगी रहेको छ र नाम कमाउनुनै मेरो गन्तव्य हो ।
- सिनेमाट्रोग्राफी बाहेक तपाई सिने जगतको कुन पाटोमा धेरै रुची राख्नुहुन्छ ?
मलाई सिनेमाट्रोग्राफी भन्दा बाहेक गीत गाउन मन पर्छ । म कोठा भित्रको सिंगर पनि हो … । कोठा बाहिर अहिले सम्म गएको चाहि छैन । तर घरमा आफुले गरेको चलचित्र अनि म्युजिक भिडियोको गीतहरु घरमा आफ्नो म्युजिक सेटमा गाउने गर्छु ।
- सिनेमाट्रोग्राफीमा लाग्ने जनमानसलाई तपाई के सल्लाह तथा सुझाव दिनु हुन्छ ?
म धेरै सुन्छु पर्दा पछाडी काम गर्नेलाई मान सम्मान भएन भनेर तर सिनेमाट्रोग्राफि राम्रो फिल्ड हो । पर्दा पछाडी बसेर काम गर्नुलाई कसैले पनि गलत सोच्नु हुन्न । चलचित्र क्षेत्रमा पर्दा पछाडीको मान्छे भएर काम गर्नु भनेको बलेको दियो जस्तै हो, जति तेल हाल्यो निरन्तर बलिरहन्छ । तर सिनेमाट्रोग्राफी बन्छु भनेपछी चाहीं सैदान्तिक र प्रयोगात्मक दुवैलाई राम्ररी अध्यन गरि एउटा क्रिएसन लिएर आउनुस । आफु भन्दा सिनिएर क्यामेराम्यानसँग सुझाव तथा सल्लाह लिनुहोस् । यहाँ क्यामेरामेन विच इगो समस्या रहेको छ त्यसरी कहिले पनि हाम्रो चलचित्र क्षेत्र अगाडी बढ्दैन । म आफै पनि आफ्नो गुरु राजु बिक्रम थापा, पुरुषोतम प्रधान दाई, निर्देशक तुलसी घिमिरेसँग कुनै इगो बिना सोधीरहेको हुन्छु ।
- अन्त्यमा :
नेपाली चलचित्र क्षेत्रमा धेरै समस्या छ । म धेरै सुन्छु एउटै लोकेसनमा खिचेका हिन्दि तथा अंग्रेजी चलचित्र राम्रा हुन्छन तर नेपाली चलचित्र उत्कृष्ट हुदैनन् । त्यस्तो हुनुमा निर्देशक, कलाकार र क्यामेरामेनमा कोअर्डिनेसन नमिलेर हो, क्रिएसन नसोचेर हो । यदि निर्देशक, कलाकार र क्यामेरामेनमा कोअर्डिनेसन मिलेमा त्यो चलचित्र उत्कृष्ट बन्छ ।