अभिनेत्री केकी अधिकारीको जीवनको नयाँ अध्याय सुरु भएको छ । केकी विवाह बन्धनमा बाधिएकी हुन् । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार उनले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । केकीका श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ हुन् । गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी उत्सव गरेका थिए । एक वर्षदेखिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।
उनले विवाहका तस्विरहरु सार्वजनिक गर्दै लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार-चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विश्वस्त छौँ ।’