‘प्रेमगञ्ज’ भारतमा पनि प्रदर्शन हुने

चलचित्र ‘प्रेमगञ्ज’ भारतमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने तय भएको हो ।

यो चलचित्र पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुनेछ । थुप्रै नेपाली र नेपाली भाषीको बसोबास रहेको भारतमा ‘प्रेमगञ्ज’ नेपाली भाषा र अंग्रेजी सब टाइटलमा प्रदर्शन हुन लागेको हो । चलचित्रलाई ड्रिम्स थिएटर मोसन पिक्चरका संचालक म्याबो ह्यङ्गले भारत वितरण गर्न लागेका हुन् ।

परिच्छेद सेनको निर्देशनमा बनेको चलचित्रमा तेज गिरि, बेनिशा हमाल, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्काको अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् । प्रेमकथामा आधारित चलचित्रको कथा निर्देशक सेनले नै लेखेका हुन् । भदौ ३ गते देखि प्रदर्शन हुने ‘प्रेमगञ्ज’ को काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौँ तथा भक्तपुरको नाला र पनौतीमा छायांकन भएको हो । कोरोना महामारीका बीच ७० दिन खिचिएको चलचित्रको २ करोड लगानी भएको बताइएको छ ।

Leave a Reply