नाटक खतले सम्झाएको सशस्त्र द्धन्दको त्यो खत

यो मैले कस्तो जित जितें कम्रेड ? मैले जिते कि हारें ? अनेकन परिवर्तनका सपनाहरु देखाएर यिनीहरुलाई डोर्याएर यहाँसम्म आएको थिएँ कम्रेड, अब यो परिवर्तन कस्का लागी ? अब के होला ? परिवर्तन आउला नआउला ? तर हाम्रो बलिदानको लागि भएपनि यो क्रान्ती जारी राख्नुस् कम्रेड, बिदा… बिदा…बिदा । ड्म्म बन्दुक पड्केको आवाज ।

यहि संवादसँगै सकिन्छ सिनामंगलमा रहेको पुरानो घर नाटकघरमा नाटक खत । नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती न्यारेसनसँगै मञ्चमा देखिन्छन् र भन्छन्, अब हामी यहाँबाट निस्कँदा यिनै लासहरुलाई टेक्दै निस्कनेछौं । त्रासिद मुटु बोकेर दर्शक कलाकारको हात र खुट्टा नाघ्दै रंगमञ्चबाट बाहिरिन्छन् ।

नाटक खत १० बर्षे सशस्त्र द्धन्दले दिएको कथामा आधारित छ । सदाबहार जस्तो दृष्य छन्, जसमा दुई डाँडा छन्, बीचमा सानो घर छ । र, त्यो घरमा बाहुनको छोरो र दलितकी छोरीले घरजम गरेका छन् ।

माओवादीहरु सधैं भात खान त्यहि घरमा पुग्छन् । उनिहरु क्रान्तिका गफ गर्छन् । देशबाट भ्रष्टचार निर्मुल पार्ने योजना सुनाउँछन् । गाउँबाट निकालिएका त्यो दाम्पती माओवादीको समानताको कुरा सुनेर मख्ख पर्छन् । आफूहरु पनि कुनैदिन पुरानै घर फर्कने मिठो सपना देख्छन् ।

त्यो घरमा सिभिल कपडा लगाएर सेनाहरु पनि आउँछन् । त्यो परिवार दुवै पक्षको खबरी समेत बन्छ ।

त्यो समयमा धेरै निर्दोष मानिसहरु द्वन्दमा पिसिए । राज्यपक्षले माओवादीलाई सहयोग गरेको भनेर बंकरमा थुन्यो त केहि समयमै माओवादी आएर बोरामा हालेर कुट्यो । नाटकमा त्यो परिवार भने भाग्यमानी ठहरियो ।

नाटकमा बलात्कारको चित्कार छ । धनिबाट पिल्सिएको गरिबको पुकार छ । समानताका लागि घर छाडेर डिँडेको बालकको जिद्दिपन छ । देशले अयोग्य घोषित गरेर सेनामा जागिर नदिएको पिडित युवाको आक्रोश छ ।

त्यसैले त नाटक डरलाग्दो बनेको छ । भयंकर छ । नाटक हो भन्ने जान्दाजान्दै डरले ज्यान काँप्ने खालको छ ।

सशस्त्र द्वन्दको समयमा भएका घटनाहरु प्रस्तुत गर्दा प्रायः लेखक निर्देशक चुकिरहेका हुन्छन् । एउटाको आँखाले मात्रै घटनालाई हेर्दा अर्को पक्षलाई त्यो बास्तविक नलाग्न सक्छ । तर नाटकका निर्देशक सुरक्षण भारतीले नाटक सन्तुलित बनाइदिएका छन् ।

सेना पहिलो प्रहार गर्न चाहँदैन । माओवादी पनि आफै निहु खोज्ने पक्षमा छैन । शान्ती वार्ताको प्रयास पनि हुन्छ, तर सफल हुन सक्दैन । दुवै पक्ष सुरुमा हतियार प्रयोग गर्न चाहँदैनन् तर पनि बन्दुक चल्छ । युद्ध हुन्छ । दुवै पक्षबाट मानविय क्षति हुन्छ । आखिर कारण के होला त ? थाहा पाउन नाटक अवश्य हेर्नुहोला । अत्यधिक दर्शकको चापका कारण दश दिन नाटकको समय थप गरिएको छ ।

नाटकमा मन्चको परिकल्पना गज्जवको छ । दुई डाँडाहरुको बीचमा दर्शक ढुंगामुढा जसरी सास रोकेर नाटकलाई साथ दिन्छन् । रंगमन्चमा दर्शक पनि नाटकका हिस्सा हुन् । यहाँ डाँडाको बीचमा रहेको घरले कथा भन्छ ।

कथाको उतारचढाबलाई प्रकाशले राम्रोसँग चित्रण गर्छ । युद्धको उत्कर्षमा दिइएको प्रकाश संयोजनले एक प्रकारको थ्रिल पैदा गर्छ । रंगमञ्चभित्रको रणभुमीलाई प्रकासमार्फत देखाउन नाटक सफल भएको छ ।

नाटकको अर्का अव्वल पक्ष ध्वनी हो । बन्दुकको आवाजदेखि बच्चा रोएसम्मको आवाज । रेडियोले घर बनेर गरेको न्यारेशनमा कलाकारहरु फिट भएका छन् । नाटकमा बास्तबिक रुपमै पटका समेत पड्काइएको छ । गोली बारुदको आवाजमा डराउने दर्शकका लागि नाटक रमाइलो नलाग्न सक्छ ।

अभिनयकामा सबै कलाकार अब्बल छन् । माओवादीमा लाग्नुको कारण सुनाइरहँदा त्यसलाई बोली हैन, दृष्यबाटै देखाउने प्रयास भएको छ ।

कलाकारले दु्रतगतिमा ति भुमिका निभाउँदा समेत कतै चिप्लिएका छैनन् । उदाहरणका लागि कम्रेड प्रभा कसरी क्रान्तिमा लागिन् भन्नेबारे साथीहरुलाई सुनाएको दृष्य । कथा सुनाउँदा सुरु गरेको एक्कैछिनको अध्यारोमा उनी बेहुली बनेर तयार हुन्छिन् । गरिवसँग बिहे गरेकी उनी त्यहि रात शक्तिमा रहेका पुरुषहरुको सामुहिक बलात्कारमा पर्छिन् । उक्त दृष्य सकिन नपाउँदै उनलाई फेरि पुरानै ठाउँमा कथा सुनाइरहेको अवस्थमा देख्न सकिन्छ । प्रत्यक्ष रुपमा दर्शकले देख्दादेख्दै उनले सबै काम आफै गर्न भ्याएकी छन् ।

नाटक विभत्स भएकाले कमजोर मुटु भएकाहरुले भने नहेर्दा राम्रो हुन्छ । त्यसो त, नाटकमा हास्य, प्रेम पनि नभएका हैनन् । जनवादी बिबाह र दुई प्रेमिल जोडीको प्रेम निकै रोचक ढंगले प्रस्तुत गरिएको छ ।

नाटकमा अरुण पौडेल, आभास अधिकारी, जयराम ढकाल, रमेश बज्रचार्य, सन्देश कार्की, प्रकाश गुरागाई, आदि योगी, सागर भट्टराई, श्रवण यादव, चर्चित ढुङ्गेल, प्रितम सागर शर्मा, निशा दाहाल, नुज महर्जन, उत्तम अधिकारी, रितेश कार्की, शिशिर गिरी, अर्नभ घिमिरे, राजकमल, सरिता भुजेल लगायतको अभिनय रहेको छ ।

त्यस्तै नेपथ्यमा रहेर प्रकाश परिकल्पनाको काम जयराम ढकालले नै गरेका छन् । मन्चको परकल्पना गर्ने काम पनि लेखक तथा निर्देशक सुलक्षण भारतीकै छ । संगित संयोजन तथा व्यवस्थापनको काम राजकमल फकिरले गरेका छन् ।

Leave a Reply