विश्व साइकलयात्री एवं सगरमाथा आरोही पुष्कर शाहले यात्रा स्मरण समेटिएको पुस्तक ‘संसारलाई साढे पाँच फन्को’ लेखेका छन् । भूपेन्द्र खड्काको सहलेखनमा तयार पारिएको पुस्तक भदौ २१ गते शनिबारदेखि बजारमा आउँदैछ । पुस्तकमा शाहले थाइल्याण्डमा भिक्षुबाट आफूले भोग्नुपरेको यौन दुव्र्यवहार र अमेरिकामा पाएको दुःखबारे यसरी लेखेका छन्-
थाइल्याण्ड : होमो भिक्षु
“पहिला नुहाएर आऊ ।”
पैँसट्ठी वर्षजतिका बूढा भिक्षुले मलाई पाखुरा समातेर बाथरूमसम्म पुर्याउँदै भने ।
“यु वेट, आई कम ।”, केटाहरुले भने र गए । मैले बुझेँ र ओके भनेँ ।
थाइल्यान्ड र लाओसको सिमाना कोनकेन पुग्न एकतीस किलोमिटर बाँकी रहँदा बीचबाटोमै रात पर्यो । यो ठाउँ वाङवाट रहेछ । म बाटोमा बास खोज्दै अलपत्र परेपछि केही थाई केटाले मलाई टुरिष्ट पुलिसकहाँ पुर्याइदिएका थिए । त्यो टुरिष्ट पुलिसले म बुद्धभूमि नेपालबाट आएको थाहा पाएपछि ती युवाहरुकै साथ पठाइदिए र म यी भिक्षुको आश्रममा आइपुगेँ । ती युवाहरु फर्किए ।
मैले नुहाएर निस्किएपछि भिक्षु बूढाले मलाई आफ्नो ओछ्यानमा बसाए । थाई भाषामा केके भन्दै अङ्कमाल गरे । “नेपान, नेपान” भन्दै गालामा गाला टाँसे । उनीहरु नेपाललाई ‘नेपान’ भन्दा रहेछन् । “चक्का यान” भन्दै हात र खुट्टाहरु समाते, बडो मुलायम तरिकाले । थाई भाषामा ‘चक्का यान’ भनेको साइकल रहेछ । पछाडि र्फकन लगाएर मेरो कमर, गर्दन, कुम सबैतिर छामे । लाग्यो, उनी मेरो शारीरिक क्षमता अनुमान गरिरहेछन्, कसरी साइकल पेलेर नेपालबाट यहाँसम्म आइपुगेँ भनेर ।
छाम्दाछाम्दै उनको हात मेरो अण्डकोष र लिङ्गसम्म पुग्यो । मलाई अप्ठ्यारो लाग्यो । बाबुसमानका भिक्षुलाई केही भन्ने आँट पनि आएन । फेरि, बासको लागि शरण परेको मान्छे !
केही बेरपछि अघिका केटाहरु फर्केर आए । साथमा एउटीकी दिदी पनि आएकी थिई । उसको नाम उकी । उनीहरुसँग थाई-अङ्ग्रेजी भाषामा निकै बेर कुराकानी भयो । यो चीजलाई अङ्ग्रेजीमा के भनिन्छ भनी तीनै जना आपसमा सोधासोध गर्थे अनि मसँग कुरा गर्थे ।
उकीले मलाई सोधी, “यु म्यारिड ?”
“हाफ म्यारिड, हाफ अनम्यारिड !”
मेरो उत्तरले केही बेरको सन्नाटापछि हाँसोको पर्रा छुटायो । अनि उकीले भनी, “एम नो म्यारिड ।”
ऊ मसँग विवाह गर्न तयार भएझैँ भई ।
साढे नौ बजेतिर भिक्षुले उनीहरुलाई जाने आदेश दिए ।
गोदामजस्तो एउटा ठूलो कोठा । उपहारजस्ता लाग्ने सामानले भरिएका छन् । भिक्षुलाई भक्तहरुले दान दिएका होलान् । त्यहीँबाट केही खानेकुरा निकालेर भिक्षुले मलाई दिए ।
थाइल्यान्ड त्यसै त गर्मीले सदाबहार राज गर्ने देश ! त्यसमाथि गोदामको बास ।
साढे दश बजेतिर हामी सँगै एउटै पलङमा सुत्यौँ । हामीले पातलो लुगा ओढेर सुतेका थियौँ । एकाएक भिक्षुले मलाई च्याप्प समाते । कुनै युवकले युवतीसँग गाला जोडेझँै गरी “नेपान, नेपान” भन्दै म्वाइँ खान थाले । उनले विस्तारै मेरा अङ्गहरु सुमसुम्याउन थाले । मेरो लिङ्गमा हात पुर्याए । उनी मेरो लिङ्गलाई उत्तेजित बनाउने कोशिशमा लागे । त्रासले होला, मेरो लिङ्गले मानिरहेको थिएन । उनको चाहना मैले बुझिसकेको थिएँ । म अप्ठ्यारो र रिसको आवेगसँगै पसिनाले निथ्रुक्कै भएँ । तर, आफूमाथि भएको गलत कार्य र अन्याय सहनुलाई नै मैले उत्तम ठानेँ ।
म सुहागरातकी दुलहीझैँ मौन रहेँ । सहेँ । यसो सोचें,”यो पनि त जिन्दगीको एउटा नयाँ अनुभव हो ।” फेरि अर्को मनले भन्यो, “होमो सेक्स घृणित कार्य हो । भए पनि समलिङ्गीबीच पो त स्वाभाविक हुन्छ ।”
रातको साढे एघार बजिसक्यो । म बबुरो यति बेला कहाँ गएर उजुरी गर्ने, कहाँ गएर विरोध गर्ने Û त्यहाँ बोले आहारा भेटेको बाघले झैं भिक्षुले मलाई झम्टने पक्कापक्की छ । विवशतालाई सहेँ चुपचाप ।
काम, क्रोध, लोभ, मोह सबै त्यागेर भिक्षु बनेका मान्छेको क्रियाकलापले मेरो मनमा धेरै प्रश्न उमार्यो । यौन चाहना सबैमा हुनु प्राकृतिक हो, स्वाभाविक हो । यो सामान्य कुरो पनि हो तर गुम्बाका भिक्षुहरुमा पनि यस्तो तीव्रता ? त्यागी होइनन् र उनीहरु ? अनि कसरी गर्छन् तपस्या र बन्छन् नयाँ बुद्ध ? मेरो देशका गुम्बाका भिक्षुहरु पनि यस्तै छन् र ?
अमेरिका : दश डलरको जिन्दगी
न्युयोर्क सुन्दा जति सुन्दर छ, त्यति नै खतरनाक पनि । ठ्याक्कै मध्यरात भएको थियो । किन ढाँट्ने, म मातेको थिएँ । मेरा नेपाली र अमेरिकन साथीको मीठो स्वागतमा मिसिएर । वियरका क्यानहरु त लाइनै बसेका थिए, मेरो घाँटी चिस्याउन । नापेको भए दश लिटरभन्दा बढी वियर पिएँ होला । मात्दै गएपछि त कति पिएँ कति, याद पनि रहेन ।
कार्यक्रम स्थलबाट म बसेको ठाउँ पुग्न त्यस्तै आधी घण्टा लाग्थ्यो, साइकलमा । फुटपाथमा आफ्नै तालमा साइकल दौडाइरहेको थिएँ । झुमझुम तालमा साइकल पनि मात्तिए जसरी कुदिरहेको थियो । मध्यरात भएकोले धन्न फुटपाथमा मान्छेहरु थिएनन् !
दश मिनेटजति हिँडेपछि अचानक एउटा कुनाबाट निकै कालो वर्णको मान्छे फुत्त निस्कियो ।
“स्टप, स्टप !”
उसले अगाडि बार लागेर मेरो साइकल रोक्यो । मैले झ्याप्प ब्रेक लगाएँ । उसले दाहिने कुम माथि उचाल्दै भन्यो, “हे म्या, डु यु हृयाभ टेन डाला ?” (प्रायः काला जातिहरुको उच्चारणमा अन्तिम अक्षर मौन रहन्छ ।)
मैले भनेँ, “सरी म्यान, आई डोन्ट हृयाभ टेन डलर !”
“रियल्ली यु डोन्ट ह्याभ टेन डलर ?”
“रियल्ली आइ डोन्ट ह्याभ टेन डलर !”
“म पनि तिमीजस्तै माग्ने हुँ ।”, मैले उसलाई मेरो साइकल देखाएँ र आफ्नो यात्राको बारेमा बताएँ ।
त्यो मान्छे मेरो उत्तर सुनेर झन् कालो भयो । उसले ज्याकेटको जिपर खोल्यो र गोजीभित्र हात हाल्यो । फुत्त पेस्तोल निकाल्यो र मेरो दाहिने कन्चटमा ताक्यो ।
“दश डलर ‘नि नहुने मान्छे त संसारमा के बाँच्नु ?” उसले यस्सै भन्यो ।
मलाई अघिका दर्जनौँ क्यानको वियरले एकै पटकमा छोड्यो । छ्याङ्ग भएँ ।
“वेट, वेट !” मैले भनेँ र उसको पेस्तोल समातेको हातलाई कन्चटबाट विस्तारै हटाएँ । मैले कमरमा बोकेको झोलाको जिपर खोलें र वालेट छामेर एउटा नोट निकालेँ ।
“आई डोन्ट हृयाभ टेन डलर, बट आई हृयाभ ट्वान्टी डलर !”
छामेर झिक्दाखेरि बीस डलर निस्केछ । उसले फुत्त मेरो बीस डलरको नोट तान्यो र ङ्च्चि हाँस्यो । कालो पेन्टिङमा सेतो छिट्टा परे जस्तै गरी देखिए उसका दाँत ।
“थ्याङ्क यु म्या !” उसले मलाई कस्सिलो धाप मार्यो र हिँड्यो ।
“वेट !” मैले उसलाई रोकेँ र भनेँ, “अघि तिमी मसँग दश डलर मागिरहेका थियौ । मैले तिमीलाई बीस डलर दिएँ । मलाई दश डलर त फिर्ता देऊ ।”
ऊ फेरि नजिक आयो । उसले पेस्तोल हातमै झुन्ड्याइरहेको थियो । धन्न, फेरि ताकेन ! फेरि कस्सिलो धाप मार्यो र भन्यो, “इट्स अल राइट म्या ! फेरि तिमीलाई यो शहरमा कतै भेटेँ भने अर्को पटक दश डलर माग्दिनँ ।”
उसले पेस्तोल समातेको हातले आकाश ताकिरहेको थियो । मेरो बीस डलर समातेको हात पाइन्टको गोजीमा थियो । पाँच मिटर पर पुगेर उसले भन्यो, “नेक्स्ट टाइम फ्री ।”