दीपेन्द्र के खनालको निर्देशन रहने चलचित्र ‘के घर के डेरा’को शुभमुहूर्त गरिएको छ। शुक्रबार स्वयम्भु स्थित हारती माता मन्दिरमा गरिएको मुहूर्तमा कलाकार, प्राविधिकको उपस्थिति रहेको थियो ।
चलचित्रको शुभमुहूर्तसँगै एक दुश्य पनि छायांकन गरिएको थियो ।
अहिले शुभमुहूर्त गरिएपनि चलचित्रको रेगुलर छायांकन जेष्ठ २ गतेबाट मात्रै गरिने निर्देशक खनालले जानकारी दिए । चलचित्रको छायांकन सेड्युल ३० दिनको राखिएको छ । चलचित्रको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिनेछ । निर्देशक खनालले चलचित्रमा आफ्नो हरेक चलचित्रमा दर्शकले पाउने सम्पुर्ण खुराक पाउने विश्वास व्यक्त गरे ।
यही वर्ष प्रदर्शनको तयारीमा रहेको चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् । दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्रलाई यसअघि सुव्रतराज आचार्यले गर्ने भनिएको थियो ।
ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बन्न लागेको चलचित्रलाई जिजिए ग्रुप (करण श्रेष्ठ) ले वितरण गर्नेछ ।