कहिल्यै नउठ्ने गरेर निदाएकी आमा पुजा, मिटिङको सिलसिलामा कोसौं टाढा पुगेको बाउ गौरव अनि दुई बर्षिय बच्ची पिहु (मारिया बिश्वकर्मा)। झण्डै ९० मिनेटको फिल्म यिनै पात्रहरुको वरपर घुमेको छ । गिनिज बुक अफ दी ओल्ड रेकर्डले एक कलाकारको मात्रै अभिनय भएको पहिलो फुल लेन्थको फिचर फिल्मको रुपमा पिहुलाई राखेको छ ।
सन् २०१८ मा प्रर्दशनमा आएको फिल्म पिहुले बालबालिकाको मनोबिज्ञानका बारेमा बहस छेड्न सफल भएको थियो । कतिपयले यसलाई नराम्रो तरिकाले टिप्पणी गरे । बालबालिकालाई त्यसरी कुनै अभिभावकले नछाड्ने तर्क गरे । तर फिल्म निर्माण पक्षले भने यो कथा सत्य घटनामा आधारित भएको भनिरह्यो ।
कथाबस्तु
दुई बर्षिय पिहुको जन्मदिनको भोलीपल्टको दृष्यबाट फिल्म सुरु हुन्छ । ह्याप्पी बर्थडे लेखेर सजाइएको भित्ता, बेलुन, मानिसहरुले भोज खाएर छाडेर प्लेटले पिहुको बर्थडे मनाइएको पुष्टि गर्छ । क्यामरा बिस्तारै फोकस हुँदै जान्छ र पिहुको अनुहारमा गएर ठोक्किन्छ ।
निर्दोष अनुहारमा बिस्तारै आँखा खुल्छ पिहुको । ठुलो आवाज गरेर पंखा चलिरहको हुन्छ । उठ्ने बित्तिकै छेउमा सुतिरहेकी आमा देखेर उनि हल्ला मुस्काउँछिन् । आमालाई झक्झकाउँदै सोध्छिन्, मम्मी पापा कहाँ छन् ? फेरि लगत्तै सोध्छिन्, ममी घुम्न जाने? अटसमटस गर्दै उठ्छिन् र भन्छिन्, ममी म आउँछु ल ।
यति भनेर उनि कोठाबाट बाहिर निस्कन्छिन् । अर्को कोठामा ठुलो आवाजमा टेलिभिजन बजिरहेको हुन्छ। उनि बाबु खोज्न यताउता डुल्छिन्। पिहुको तोते बोलीले सबैलाई लठ्ठ बनाउँछ।
आमालाई उठाउने उनका उपायहरु निकै निर्दोष छ। ए रिस्ता क्या केहेला ते नामको सिरियल लगाइदिएर उनि आमालाई उठाउन खोज्छिन्। ट्वाइलेटमा जानीजानी पानी पोखेर आमालाई सुनाउँछिन्। गल्ती गर्छिन्, ताकी आमा उठेर उनलाई गाली गरुन्।
घरमा पानी खुला छ। पिहु पानी निभाउन बडो मेहनत गर्छिन्। उनी स्टुलमाथी चढ्दा लड्लिन् कि भनेर मुटु ढुकढुक हुन्छ। सलमान खानको गीत ढिन्काचिका टिभीमा लगाएर नाच्छिन्, उनिसँगै नाच्न मनलाग्छ। खानेकुरा खोज्दै जाँदा दुध सम्झेर फिनायल खान खोज्छिन्, मुटु ढुकढुक हुन्छ। गल्तीले फ्रिजमा थुनिन पुग्छिन्, सास फेर्न गाह्रो हुन्छ। थकेर भुँईमा निदाउँछिन्, मन चसक्क दुख्छ। आमाको हातबाट सिलिपिङ ट्यावलेट लिन्छिन् र खान्छिन्, तनावको अवस्था पैदा हुन्छ।
अझै ओभनमा रोटी तताउँदाको दृष्य, ग्याँस निभाउन नसकेर खुलै छाड्दाको अवस्था लगायतले फिल्मलाई अझै डरलाग्दो बनाएको छ। बर्थडेका लागि झिलिमिली बनाउन प्रयोग गरिएका बत्तिहरुले करेन्ट लाग्नसक्ने सम्भावनालाई झनै बढवा दिएको भान हुन्छ।
फिल्ममा यस्ता धेरै दृष्यहरु छन्, जसले दर्शकको मुटु ढुकढुक बनाउँछ। बिजुलीसँग जोडिइरहेको आइरनमा हात परेर पोल्दा हातमा फु फु गर्न मनलाग्छ। रेलिङमाथी चढ्दा अब लड्ने हो कि भनेर मुठ्ठी आफै कसिन्छं। शरिरमा काँडा उमार्ने संवाद र दृष्यले सबै समय ओगटेको छ। फिल्ममा कथा खासै छैन, छ त केवल पिहुको संघर्ष र उनको दमदार अभिनय।
फिल्मको कथा भन्दा प्रस्तुती दमदार छ। त्यसैले फिल्मको कथाबस्तु भन्दा प्रस्तुति नै हेर्नुहोला। नेटफिल्क्समा फिल्म सजिलै हेर्न सकिन्छ। समिक्षकबाट खासै राम्रो समिक्षा नपाएपनि फिल्मले धेरै बिधामा अन्तराष्ट्रिय अवार्डहरु जितेको छ। आइएमडीबी रेटिङ ६.७ पाएको यो फिल्म कमजोर दिल भएका अभिभावले भने नहेरेकै राम्रो हुन्छ।
फिल्म अभिभावकका लागि मात्रै हो, बालबालिकासँग बसेर नहेर्नुहोला।
बर्तमान समय र फिल्मले उठाएको बालमनोबिज्ञान
पहिलेजस्तो अहिले, बालबालिकालाई समय दिन नसक्नु अभिभावकको बाध्यता हो। फिल्ममा आमाले आत्महत्या गरेकी छन्, बाबु लामो यात्रामा छन्। घरमा दुई बर्षकी पिहु एक्लै छिन्। अभिभावकको लापरबाहिका कारण र एक्लोपनाको कारण पिहुले भोगेका कुरालाई निकै डरलाग्दो तरिकाले फिल्ममा प्रस्तुत गरिएको छ।
संयुक्त परिवारमा बस्ने हामी अहिले एकल परिवार हुँदै एकल अभिभावकको कन्सेप्टसम्म आइपुगेका छौं। फिल्मले आफ्ना बालबालिका एक्लै घरमा छाडेर काममा ब्यस्त भएका अभिभावकलाई झकझकाउने काम गरेको छ। घरमा पिहुको जस्तै इलेक्ट्रोनिक सामान खुला नहोला, तर हामी उनिहरुलाई इन्टरनेटको दुनियाँमा एक्लै छाडिरहेका छौं। यो भौतिक असुरक्षा भन्दा डरलाग्दो मनोबैज्ञानिक असुरक्षा हो बालबालिकाका लागि।
कोभिडपछि बिद्यालय खुलेका छ। दिनभर बालबालिका बिद्यालयमा हुन्छन्, यो कामकाजी अभिभावकका लागि सजिलो कुरा हो। तर शनिवारको दिनसमेत आफ्ना बालबालिकालाई दिन नसक्नु र उनिहरुलाई घरभित्र थुनेर काममा निस्कनु घातक हो।
फिल्ममा श्रीमान श्रीमतीको झगडाका कारण यस्तो घटना घटेको देखाइएको छ। श्रीमती शंकालु स्वभावकी छन्। उनि आफ्नै साथीसँग श्रीमानको अनैतिक सम्बन्धबारे शंका गर्छिन्। यसै बिषयमा दुईको झगडा पर्छ। मानसिक तनावमा आएर श्रीमतीले आत्महत्या गर्छिन्।
फिल्मको यो पाटोले अहिलेका आम अभिभावकको प्रतिनिधित्व गर्छ। सानो कुरामा समेत आवेशमा आएर घातक निणर्य गर्नेहरुका लागि यो फिल्म एउटा सिकाइ हो। आफूले गरेको गल्तीले बालबालिका कति समस्यामा पर्छन् भन्ने नमुना हो।
पिहु फिल्मले देखाएको बास्तविक घटना प्रत्येक अभिभावकका लागि खराब सपना हो। दुस्वप्न हो। यस्ता घटना घट्नु त परै जाओस्, सपनामा पनि नदेखियोस्, कोरिबाटीको कामना।