निर्देशक मिलन चाम्सको निर्देशन रहने चलचित्र ‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो । चलचित्रमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्मचार्यको जोडी बाँधिएको छ । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुने भनिएको छ ।
कमेडी र प्रेमकथामा आधारित रहने चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने छिन् भने विवेक ‘वर’को। चलचित्रमा साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्का लगायतको पनि अभिनय रहनेछ । जेठ अन्तिमबाट छायांकन सुरु हुने चलचित्र रोमानिया, इटली, फ्रान्स र नेपालमा खिचिने छ । एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।
चलचित्रमा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुषालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, राजेश पायल राई, दीपक लिम्बु, अन्जु पन्त, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दासको गीतमा स्वर रहनेछ ।