कलाकारको लोकप्रियताको मापन सामाजिक सञ्जालमा उनीहरूलाई पछ्याउनेको संख्या र हलमा उनीहरूको चलचित्रलाई पछ्याउने दर्शकको भिडको आधारमा गर्न सकिन्छ । हुन त सामाजिक सञ्जालमा गज्जबको फलोअर्स कमाएका कलाकारका चलचित्रले पनि हलमा पानी माग्न पाएका छैनन् । तर, सामाजिक सञ्जाल कलाकारको फ्यानसँग जोडिने दरिलो माध्यम भने बनेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा नेपाली कलाकारहरू निकै सक्रिय छन्। इन्स्टाग्राममा दैनिक अभ्यस्त रहने कलाकारहरू फ्यानसँग आफ्ना कुराहरू सेयर गरिरहेका हुन्छन् । नायिका स्वस्तिमा खड्काको इन्स्टाग्राममा फलोअर्स एक मिलियन (दश लाख) पुगेका छन् । स्वस्तिमा खड्का सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स कमाउने तेश्रो नेपाली नायिका बनेकी छन् । उनले भने ४९४ जनालाई मात्र फलो गरेकी छिन् । सामाजिक सञ्जालमा स्वस्तिमा आफ्नो दैनिक क्रियाकलाप, चलचित्रको प्रचार र आफूलाई मन परेका कुरा सेयर गर्छिन् ।