– दिपेश ढकाल –
फिल्मको कथा हो, एउटा चिसो मान्छेको यात्राको । जसलाई जल्नु छ, या खोलामा बग्नु छ, या माटोमा भासिनु छ । अर्थात्, विदेशबाट लाश बनेर फर्किएको एउटा नेपालीको एयरपोर्टदेखि अन्त्येष्टीसम्मको कथा हो फिल्म चिसो मान्छे ।
कथामा सँगसँगै थपिन्छन्, कोरोना महामारी, सरकारले कोरोना महामारीको रोकथामका लागि गरेको लकडाउन र त्यसबाट यात्रामा खेपनिे कठिनाइ र हेपाइ ।
यात्राका सहयात्री ३ जना पात्र छन्, सबैका आ-आफ्ना दुख र कथा छन् ।
३ जना पात्र मध्ये एकलाई आफ्नो धर्म पूरा गर्नु छ । उ लाशको बुबा हो, लाशकी पत्नीको ससुरा । उसलाई छोराको अन्त्येष्टी गराउनु छ । बुहारीलाई सम्हालेर परिवारको इज्जत राख्नु छ । बाबु र ससुराका रुपमा उसको धर्म त्यहि हो । उ त्यहि पुरा गराउन चाहन्छ । तर, उसको दिमाग रुढीवादी सोचले भरिएको छ । उ पुरानै तरिकाले आफ्नो धर्म पुरा गर्न प्रयासरत छ । तर जसै यात्रा बढ्दै जान्छ, जसै उसले भोग्दै जान्छ, जसै बुहारीका मनका गाँठा फुक्दै जान्छन् र छोराको लाश राखेको पिकअप ड्राइभरसँग बिताएको समय बढ्दै जान्छ, उसको सोचमा पनि परिवर्तन आउँछ । त्यसपछि उसको लागि बुहारी छोरी हुन्छे र जात मिथ्या ।
अर्को पात्र छ लाशकी पत्नीको, जसलाई जसरी पनि स्वतन्त्र हुनु छ । पुतली झैँ उड्नु छ । नाच्नु छ । गाउँनु छ । उसमा दुखका पोकाहरु गाँठा परेर बसेका छन् । बाल बिबाहका कारण उसले विभिन्न समस्यासँग जुध्नु पर्यो । यात्रा अघी बढ्दै जाँदा उसका लागि पनि स्वतन्त्रताको मानक फेरिए जस्तो देखिन्छ । स्वतन्त्रका लागि पहिले भागिहाल्न तयार उ अन्तिमसम्म सहयात्री बनेर काँधमा काँध थाप्छे ।
तेस्रो पात्र छ लाश बोकेको पिकअप ड्राइभरको, जसको आफ्नै दुख छ तर यात्रामा उ अरुको लागि यसरी हिड्छ कि मानौँ, उसले आफ्नो धरातल र दुख सबै बिर्सियो । यात्रामा बेला बेला आउने अफ्ठ्यारा बाहेक उ पुर्णरुपमा लाशको यात्रामा समाहित भएको छ । हुन त, उसको कर्म नै त्यहि हो, पैसा पनि राम्रो कमाउँछ तर उ अरुको दुखलाई आत्मसात गरेर अगाडी बढिरहन्छ । ड्राइभर मात्रै भएर बस्न सक्दैन ।
यी सबै पात्रहरुसँगसँगै अन्य केहि पात्रहरु पनि बेला बेला देखिन्छन् तर फिल्ममा पात्र पनि छन् नि भन्नका लागि मुख्तया यी ३ जना नै हुन् । असाध्यै कम पात्रहरुबाट समाजको असाध्यै विशाल र महत्वपुर्ण कथा भनेका छन् निर्देशकले ।
प्राबिधिकरुपमा फिल्मलाई औसत भन्दा माथि राख्न सकिन्छ । केहि लामा दृष्यहरुले कथालाई अड्याएर राखे जस्तो लागे पनि ति आँखा बिझाउने गरि छैनन् । संवाद कम राखेर दृष्य र संकेतहरुले कथा भन्ने निर्देशकिय कलाले फिल्मलाई झन् गहकिलो र अर्थपुर्ण बनाएको छ ।
लामो अन्तरालपछि एउटा राम्रो नेपाली फिल्म बनेको छ । दिपेन्द्र के खनालले नेपाली समाजले बिडम्बनापुर्वक सामान्य भन्ने ठानेको विदेशबाट आउने लाशको कथामा राम्रो फिल्म बनाएका छन् । पश्चिमेली बोलीले यसमा झन् सुन्दरता थपिदिएको छ । समग्रमा, चिसो मान्छे फिल्मले समाजको चिसो पक्षलाई अर्थपुर्ण ढंगले देखाएको छ ।