डेढ वर्ष अगाडि प्रदर्शनमा आएको दर्शकले र समिक्षकले रुचाएको चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’को औपचारिक निर्माण घोषणा गरिएको छ । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भुमिका रहने चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि औपचारिक निर्माण घोषणा गरेको हो । चलचित्रमा अभिनेता निश्चल बस्नेत बाहिरिँदा अर्पण थापाको प्रवेश भएको छ ।
सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सुशील पौडेलको लेखनमा निर्माण हुने चलचित्रबाट केशव पाण्डेले चलचित्र निर्माणमा हात हालेका छन् । चलचित्रमा विपिन, नम्रता र अर्पणको साथमा राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायत अभिनयमा रहनेछन् ।
यही हप्ताबाट फ्लोरमा जाने चलचित्रलाई कास्कीको याङ्जाकोट आसपास छायांकन गरिनेछ । ‘प्रसाद २’लाई राजेश श्रेष्ठले खिच्नेछन् । सम्पादन मिलन श्रेष्ठले गर्नेछन् । चलचित्र निर्माण टिमले आगामी तिहारलाई चलचित्रको प्रदर्शन मिति समेत तय गरेको छ ।
तस्वीर: ज्ञानु राई/ भद्र वहादुर कार्की