अभिनेता मुकुन भुसाल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने चलचित्र ‘बिजुली’ निर्माणको घोषणा भएको छ । निर्माताले चलचित्रको दुई श्रृंखला बन्ने जानकारी दिंदै शुक्रवार काठमाडौँमा एक कार्यक्रमका बीच पहिलो च्याप्टरको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक ‘बिजुली : च्याप्टर एक’को फर्स्टलुक पोस्टरमा मुकुन महिलाको अवतारमा प्रस्तुत छन् । उनी चलचित्रमा ट्रान्सजेन्डरको भूमिकामा देखिने पोस्टरबाट भान हुन्छ।
विकास गिरीको डेब्यू निर्देशनमा बन्ने चलचित्रमा गिरीकै लेखन रहेको छ । चलचित्रमा मुकुन र बेनिशासँगै कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छानिने निर्देशक गिरीले बताए ।
बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माता लुना केसी हुन् । क्रियटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायांकन आगामी भदौ तेस्रो साताबाट सुरु गर्ने तयारीमा निर्माण टिम छ । हरि घले लामाले छायांकन गर्ने चलचित्र सत्य, त्रेता, द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्ने र चलचित्रको दोस्रो भाग पनि निर्माण हुने बताइएको छ ।