-गणेश कार्की-
एउटा प्रसंग छ । कुरा त्यो बेलाको हो, जति बेला माओवादी विद्रोह देशैभर फैलिएको थियो । पश्चिममा माओवादीले यस्तो गरे, उस्तो गरे भन्ने समाचारमा एकादेशको कथा जसरी मात्रै थाहा पाएका हामीले हाम्रै घरआँगन र विद्यालयमा माओवादीहरु देख्न थालेका थियौँ । यतिसम्म कि हाम्रो एसएलसी सुरु हुनु एकदिन अगाडि हाम्रो स्कुलको चौरमा माओवादीहरुको विशाल जनसभा भएको थियो । भर्खरै स्थापना भएको सशस्त्र प्रहरीहरुले चौर र स्कुललाई घेरे पछि गोलीबारी भएको थियो । त्यो दिन गोलीले पारेका खोपिल्टाहरु स्कुलका भित्तामा पछिसम्म थिए ।
त्यसको विरोधमा माओवादीले जनप्रतिरोध भन्दै भोलिपल्ट बन्दको घोषणा गरेको थियो । र, त्यहि बन्द छिचोल्दै गएर परिक्षा हुने हो कि होइन, हामी रहने हौँ कि हौइनौँ भन्ने बिषम द्धिविधामा हामीले परिक्षा दिएका थियौँ । त्यसपछि हाम्रो गाउँमा पनि बर्षौँसम्म शान्ति रहेन । मान्छेहरु मारिए । मान्छेहरु हराए । केहि मान्छेहरु भेटिए । र, केहि मान्छेहरु कहिलै भेटिएनन् ।
हाम्रालागि ति समाचारहरु मात्रै थिए । त्यहि समयमा म आफ्नै लयमा कक्षा ११ पढ्न थालेको थिएँ । शनिश्चरे, मोरङको घरबाट हरेकदिन दमक, झापाको कलेज पुग्नु पर्थ्यो । प्राक्टिकल र के के कारणले एकदिन अलि धेरैबेर कलेज बसेको थिएँ । बस चढ्न हतार हतार दमक चौक पुगेँ । साँझ परे पछि एकदमै कम गाडीहरु पाउँथेँ । एउटा बल्लतल्ल आएर चढेँ । तर दुर्भाग्य के भयो भने पथरी छेउको जंगलमा आएर गाडी बिग्रियो । झिसमिसे अध्यारो मात्रै भए पनि कसैले २ किलोमिटर जति टाढा पथरी हिड्दै जाने सोच्न सकेनन् । गाडी बनेर पथरी पुग्दा रातको ८ जति बजेको हुँदो हो । मैले साइकल राख्ने पसल निकै पहिलै बन्द भइसकेछ । आँगनमा मेरो साइकल थिएन । सायद पसल भित्र नै राखिदिए । समस्या साइकल हुनु र नहुनुको थिएन, त्यहाँबाट चार/पाँच किलोमिटर परको बाटो अझै बाँकी थियो । समस्या त्यो थियो । दशैँतिहारमा पिङ खेल्न भन्दा अरु बेला खासै राती घरबाहिर ननिस्किने मेरो लागि त्यो चार/पाँच किलोमिटर उमेरभरको बाटो जत्तिकै लामो थियो ।
मोबाइल नहुने त्यो समयमा म आउँदैछु वा म यतै बसेँ भन्नका लागि कुनै माध्यम थिएन । घर नपुग्ने विकल्प हुन्थेन । यसैले हिड्न थालेँ ।
बाटोमा आर्मी, पुलिसहरुको पेट्रोलिङ चल्छ भन्ने हल्ला थियो । राती हिड्ने जति सबै माओवादी हुन् भन्ने सोच्छन् भन्ने हल्ला पनि अघिल्लो हल्लासँगसँगै आउँथ्यो । यसैले कुनै गाडी आउँदै गरेको उज्यालो आउँछ कि म या त झाडीतिर छिर्थेँ, या त नजिकैको घरको आँगनतिर लाग्थेँ । तर केहि गाडीहरु गइसक्दा पनि ति गाडीहरु आर्मी पुलिसका जस्ता लागेनन् । यसै क्रममा एउटा गाडी आयो । मैले सोचेँ कि अरु जस्तै यो पनि आर्मी पुलिसको गाडी होइन । र, म बाटोको छेउ लागेर लुसुलुसु हिडिरहेँ । तर त्यो गाडीको हाइबिम म तिर फर्किने गरेर रोकियो । र, हाइबिमको चर्को उज्यालो पछाडीको अन्धकारबाट एउटा भारी आवाज आयो, “कहाँ हिडिस् यति राती ?”
“म क्याम्पसबाट आउँदै ।” डराउँदै मेरो मुखबाट यति आवाज निस्कियो ।
“कुन चै क्याम्पस यति बेलासम्म खुल्छ ?” अर्को प्रश्न तेर्सियो । तर प्रश्न यति सभ्य थिएन । प्रश्नसँग अमाचकारी गालीहरु पनि थिए ।
“दमक क्याम्पस हो । गाडी बिग्रिएर यति बेला भयो ।”
“कार्ड देखा ।”
कार्ड देखाएँ ।
घर सोध्यो ।
ठेगाना बताएँ ।
“सबै पहिले नै रटे जस्तो गरेर फटाफट जवाफ दिन्छस् त ।” फेरि अमाचकारी गाली सहित शंका गरियो ।
म केहि बोलिन । मैले स्कुलमा र स्कुलबाट हाजिरीजवाफमा कयौँ पुरस्कार जितेको छु, कसरी भन्नु ? मैले चिन्दै नचिनेको मान्छेहरुको भिडमा कविता वाचन गरेको छु, कसरी भन्नु ? तपाईले सोधेका कुनै पनि जवाफ गाह्रो थिएनन्, कसरी भन्नु ?
मैले केहि नबोलेर जितेँ सायद । म छोडिएँ । घर पुगेँ । घरभरका मान्छेहरु आगनको ओल्लो छेउमा आएर घर पुग्ने बाटोको अन्तिम बिन्दुमै पर्खिरहेका थिए । म हराइन । घर पुगेँ ।
पछि माओवादीहरु घरैमा आउन थाले । राती बस्न थाले । लामा लामा मिटिङ गर्न थाले । दिमागले नभेट्ने सिद्धान्त र क्रान्ति पढाइरहे । तर तिनले मलाई लगेनन् । म हराइन । म घर पुगिरहेँ ।
आज मैले हेरेको फिल्म पानीफोटोमा हराएको पात्र मैले भोगे जस्तै कुनै एक प्रसंग कृष्ण भन्ने पात्रले भोग्छ । र, उ हराउँछ । अनि मेरो आँखा अगाडि मैले माथि उठाएको प्रसंग आउँछ । त्यसपछि फिल्ममा कृष्णकी आमा (मेनुका प्रधान) लाई म मेरी आमा देख्छु । कृष्णका बा (अनुप बराल) लाई म मेरो बुबा देख्छु । अनि मैले आफुले धन्न भोग्नु नपरेको जीवन देखेँ । म कहाँ कहाँ कसरी बचेँ, देखेँ । मेरा बुबाआमाले कहाँ कहाँ कसरी आँशु खसाल्नु परेन, बाटो हेर्दै टोलाउनु परेन, देखेँ ।
मैले पानीफोटो हेरुन्जेल एउटा डर देखिरहेँ । छट्पटी, ऐँठन र पर्खाइ देखिरहेँ । अपराम्पार आशा देखिरहेँ । अझै पनि २००० भन्दा बढि मानिसहरु बेपत्ता भइरहेका छन्, ति मानिसहरुको तर्फबाट समाज र राज्यलाई सोधेको प्रश्न देखिरहेँ ।
पानीफोटो निर्देशकका रुपमा खगेन्द्र लामिछानेको पहिलो फिल्म हो । निर्देशकका रुपमा लामिछानेको प्रस्तुत पहिलो हो भने जस्तो गाँसमा ढुंगा पर्ने पनि छैन र जबरजस्तरुपमा उत्कृष्ट पनि छैन । तर सामाजिक राम्रा कथाहरुको निर्देशकिय सम्भावना भने देखाएका छन् । उनले जुन कथा फिल्ममा भन्न खोजेका हुन्, त्यसमा भने उनी फिल्मभरी प्रस्ट छन् । फिल्म बिस्तारो गतिमा अगाडि बढ्दा पनि स्क्रिनमा आँखा टाँसिरहन्छन् । अभिनय, पात्र र दृष्यहरु बिझाउँदैनन् ।
हो, ‘खगेन्द्र लामिछाने फिल्म अन्त्य गर्न जान्दैनन्’ भन्ने आरोप उनले यो फिल्मबाट पनि भोग्नु पर्नेछ । तर कसैलाई खोजिरहेको र पर्खिरहेको कथाले दर्शकलाई पनि खोज्न र पर्खिरहन बाध्य बनाउँछ । दर्शकलाई पनि गुमाउँनु, भेटिनु, गुमाउनु, भेटिनुको अनुभुति गराइरहन्छन् । निर्देशकका रुपमा लामिछानेले यो ठाउँमा भनेका जितेका छन् ।
मैले त्यो समय भोगेँ । यसैले मलाई बढि छुन्छ, त्यो समय नभोगेकाहरुलाई यो कथाले छुवाउन जति दृष्य र संकेतहरु आवश्यक थिए, त्यसमा भने केहि कञ्जुस्याइँ छन् । तर पनि पानीफोटोको दर्शककारुपमा मान्छेहरुले नेपालको एउटा नमिठो विगतले बनाएको दाग देख्नेछन् । हराएका २००० भन्दा बढि मानिसहरु कहाँ छन् भनेर कसै न कसैले सोधिरहनु नै पर्ने हो । यो प्रश्न सोध्ने हिम्मत गर्ने फिल्म निर्माण समूह नै धन्यवादका पात्र बन्नेछन् ।