‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ चलचित्र ‘फूलबारी’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । बुधवार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको घोषणा गर्दै सम्पूर्ण टिमबारे जानकारी दिइएको थियो । चलचित्रमा विपिन कार्की, दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहने छ । चलचित्रमा मिरुना मगर, सिर्जना सुब्बा, लोकेन्द्र लेखकको समेत अभिनय हुनेछ । चलचित्र पारिवारिक कथामा बन्न लागेको हो ।
आगामी भदौबाट छायांकन सुरु हुने चलचित्रले आमा-बुबा र सन्तानबीचको सम्बन्धको कथा भन्नेछ । चलचित्रको पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् । कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको चलचित्रलाई मनिष ढकालले निर्माण गर्नेछन् । चलचित्रलाई अमेरिकी प्राविधिक जोस हेरमले छायांकन गर्नेछन् । यशोधा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत हुनेछ ।
आमा बनेपछि चलचित्र अभिनयबाट बाहिर रहेकी प्रियंकाले यहि चलचित्रबाट कमब्याक गर्ने भएकी छन् । गत बैशाख २५ गते रिलिज भएको चलचित्र ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन लागेकी हुन् ।