चार वर्ष अगाडि २०७३ सालमा प्रदर्शनमा आएको अभिनेता रमित ढुंगाना निर्मित तथा अभिनीत चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ को राजधानीको वीग मुभिजमा सोमबार विशेष शो आयोजना गरिएको थियो । एसिड पीडित मुस्कान खातुनको सहयोगार्थ ‘लाइन्स क्लब अफ काठमाण्डौ’ ले आयोजना गरेको चलचित्रको विशेष शोमा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल उपस्थित हुनुभएको थियो ।
विशेष शोबाट उठेको रकममा केही थप गरेर मुस्कानको उपचारका लागि दिइने ‘लाइन्स क्लब काठमाण्डौ’ ले बताएको छ । नेता नेपालले मुस्कानको अध्ययनका लागि आफूले सरकारसमक्ष सहयोगको कुरा राख्ने आश्वासन दिनुभयो भने, अभिनेता ढुंगानाले आफूले मुस्कानको सहयोगका लागि चलचित्र उपलब्ध गराएको बताए । चलचित्रको विशेष शोमा मुस्कान पनि पुगेकी थिइन् ।
उनले आफ्नो उपचारका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आफूमाथि एसिड प्रहार गर्नेलाई कडा कारबाहीको पनि माग गरिन् । गत भदौमा उनीमाथि एसिड प्रहार भएको थियो ।
ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्रमा रमितसँगै अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मालगायतका कलाकारहरुको अभिनय छ । चलचित्रबाट बुद्ध नेपालमा जन्मिएको सन्देश दिन खोजिएको छ । देश तथा विदेशमा च्यारिटी शो गरेपछि यो चलचित्रको नेपालमा प्रदर्शन गरिएको थियो । तर, चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरेन ।