एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले ९५ औं ओस्कर अवार्डका लागि आवेदन खोलेको छ । नेपालस्थित ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले एक सूचना जारी गरी भदौ ३० गतेभित्र फिल्म बुझाउन अनुरोध गरेको छ । जनवरी १ देखि नोभेम्बर ३०, २०२२ सम्म थिएटरहरूमा एक हप्तासम्म चलेका चलचित्रहरू मात्र आवेदन दिन योग्य हुनेछन्।
गत वर्ष कोरोना महामारीका कारण चलचित्र हलमा रिलिज हुन नसकेका कारण नेपालबाट कुनै पनि चलचित्र सिफारिस गरिएको थिएन । तर, यसपटक कम्तीमा पनि ६ चलचित्रले सिफारिस प्रतियोगितामा भाग लिने अनुमान गरिएको छ । यसपटक नेपालबाट दोख, पानीफोटो, राधा, प्रकाश र ऐना झ्यालको पुतली लगायतका फिल्मले प्रतिस्पर्धाको तयारी गरेका छन् । ओस्कार अवार्ड समारोह मार्च १२ मा अमेरिकाको लस एन्जलसमा हुँदैछ ।