सोमबार प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले चलचित्र ‘ऐना झ्यालको पुतली’ हेरिरहँदा आफ्नै कथा हेरिरहे जस्तो महसुस भएको बताएका छन् । चलचित्रको कथा, निर्देशन र कलाकारको प्रशंसा गरेका फिल्मकर्मी तथा साहित्यकारले चलचित्रले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिएका थिए ।
चलचित्रको प्रिमियरमा उपस्थित गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर बनेको बताउँदै यो फिल्म नेपाल भरिका स्कुलमा देखाउन आग्रह गरिन् । ‘मैले आजसम्म हेरेका नेपाली फिल्ममध्ये सबैभन्दा सुन्दर लाग्यो । यो फिल्म सबै स्कुलले आफ्ना विद्यार्थीलाई देखाउनु पर्छ । यो फिल्म हाम्रो सामाजिक इतिहासको दस्तावेज हो,’ आनीको भनाइथियो । पहिलो चोटि हेर्दा धित नमरेर दोस्रो पटक फिल्म हेर्न आएका एमाले नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ रहेको बताए । ‘यो नेपाली टेस्टको अर्गानिक कथा हो । यो राम्रा सिनेमाको कोटीमा पर्छ । नेपाली सिनेमा कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो,’ पन्तले भने ।
साहित्यकार नयनराज पाण्डेले फिल्मलाई ५ मा ५ रेटिङ दिँदै फिल्म हेर्दा आफूलाई डेढ घन्टा मौन साधना गरेको महसुस भएको प्रतिक्रिया दिए । ‘कथाभन्ने शैलीयति सहजत यसअघि मैले नेपाली सिनेमामा विरलै देखेको थिएँ या सायद देखेकै थिइनँ । यो सिनेमाले पीडाभन्दा पनि तपाईं हाम्रो दिमागमा ‘प्रश्न’ उमार्दो रहेछ । सुन्दर सुइटरझैं बुनिएको पटकथा र बुलन्द निर्देशनले यो सिनेमालाई भव्य उचाइ दिएको छ । यो नेपाली सिनेमाको ठूलो प्राप्ति हो’ उनको प्रतिक्रिया थियो ।
नाटक निर्देशक विमल सुवेदीले फिल्मलाई आफ्नो जीवनकालमै हेरेको उत्कृष्ट नेपाली चलचित्रको सूचीमा सदैव रहने बताए । निर्देशक दीपेन्द्र लामाले ‘मुकुण्डो’ र ‘नुमाफुङ’पछि ‘ऐना झ्यालको पुतली’ सन्तुष्टि दिने फिल्म रहेको बताए । ‘नुमाफुङ’ र ‘मुकुन्डो’पछि अर्थात् झन्डै २० वर्षपछि ‘ऐना झ्यालको पुतली’ मेरो लागि सबैभन्दा बढी सन्तुष्टि दिने नेपाली फिल्म भइदिएको छ । अर्ग्यानिक वा मौलिकताका नाममा बनिरहेका आलाकाँचा सिनेमाहरुको डंगुरमा यो सगरमाथाझैं अग्लो र चम्किलो बनेर आइपुगेको छ । राम्रो फिल्म बनाएको छु भनेर गमक्क परेर बस्ने वर्तमान फिल्मकर्मीहरु सुजित बिडारीहरुबाट विस्थापित हुने दिन टाढा छैन अब । व्यक्तिगत रूपमा भन्नुपर्दा, ‘ऐना झ्यालको पुतली’ हेरेर ईष्र्या नै लागेको छ,’ उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखेका छन् ।
सिनेमा हेरेका दीपक राजगिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुतआदिले पनि फिल्ममा आफूलाई नै पाएको बताउँदै ‘ऐना झ्यालको पुतली’उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।
यसैगरी कान्तिपुर दैनिकका स्तम्भकार तथा इतिहासकार सुजित मैनाली भन्छन्, ‘ऐना झ्यालको पुतली’ हेरेर घर फर्किइ ऐना हेर्दै यसो सम्झिहेरेको- यति धेरै मिहिनेतका साथ बनाएको यति राम्रो अर्को कुनै नेपाली फिल्मको सम्झनै आएन ।’
आउँदो शुक्रबार प्रदर्शन हुने तरखरमा रहेको चलचित्रमा सुजित बिडारीको लेखन तथा निर्देशन रहेको छ । चलचित्रलाई आकाश पौडेल, प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको चलचित्रले उच्चशिक्षा लिन चाहाने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्ब सादृश्य वणर्न गरेको छ ।