सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को अष्ट्रेलिया प्रदर्शन अधिकार विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले महंगो रकममा चलचित्रको राइट्स किनेका हुन् । केही दिनअघि चलचित्र निर्माण कम्पनी बाबरी फिल्म्स र मवेन इन्टरटेनमेन्टबीच कागजी सम्झौता भएको हो ।
धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर मुख्य भूमिका रहेको चलचित्र नेपाल प्रदर्शनको १० दिनपछि अष्ट्रेलियामा लाग्नेछ । त्यस्तै, तिहारको एक सातापछि नोभेम्बर ६ मा हङकङमा पनि चलचित्र प्रदर्शन हुने भएको छ । डेब्यु अभिनेता धिरज नाडकर अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् ।
चलचित्र आगामी असोज १४ (बडा दशैं) मा देशभर प्रदर्शन हुने छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ ।
निर्देशक पौडेलको कथा र सम्पादन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री/विक्रम लामाको कोरियोग्राफी छ । बाबरी फिल्म्सको व्यानरमा निर्मित चलचित्रमा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् । भने सुष्मा गुरुङले सहनिर्माताको भूमिका निभाएकी छन् । चलचित्र काठमाडौं, झापा, मोरङ र सिक्किममा खिचिएको हो ।