ओस्कार अवार्डमा नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त चलचित्रमध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।

सुजितको पहिलो फिचर फिल्म हो, ऐन झ्यालको पुतली । यसअघि उनले छोटो फिल्म ‘सावित्री’ निर्देशन गरेका थिए । चलचित्रलाई आकाश पौडेल, प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको चलचित्रले उच्चशिक्षा लिन चाहाने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्ब सादृश्य वणर्न गरेको छ ।

एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले ओस्कर अवार्डका लागि आवेदन खोलेको थियो। त्यसपछि नेपालस्थित ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले एक सूचना जारी गरी भदौ ३० गतेभित्र फिल्म बुझाउन अनुरोध गरेको थियो। सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए । जनवरी १ देखि नोभेम्बर ३०, २०२२ सम्म थिएटरहरूमा एक हप्तासम्म चलेका चलचित्रहरू मात्र आवेदन दिन योग्य थिए।

गत वर्ष कोरोना महामारीका कारण चलचित्र हलमा रिलिज हुन नसकेका कारण नेपालबाट कुनै पनि चलचित्र सिफारिस गरिएको थिएन । ओस्कार अवार्ड समारोह मार्च १२ मा अमेरिकाको लस एन्जलसमा हुँदैछ ।

Leave a Reply