अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको बारेमा बिहीबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ । ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहनेछन् ।
नृत्य र गायनमा रुचि हुने नव प्रतिभाहरुलाई अवसर दिने उद्येश्यले आयोजना गर्न लागिएको यी दुई रियालिटी शोको अमेरिकाको विभिन्न शहरमा अडिसन हुने अभिनेत्री केकी अधिकारीले जानकारी दिइन् । अडिसनबाट छानिएका करीब २० जना नव प्रतिभाले यस रियालिटी शोमा सहभागिता जनाउन पाउने उनको भनाई छ ।
‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरु पाउने आयोजक सदस्यमध्येकी अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन् । ‘इन्टरनेशनल होम केयर’ का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुन लागेको हो ।
‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ अमेरिका प्रस्थान गर्न लागेकी उनले नयाँ प्रतिभाहरुलाई अवसर र कला सस्कृतिलाई जोगाउने हिसाबले यो रियालिटी शो आयोजना हुँदै आएको बताइन् । उनी ‘मेरो डान्स कप’ को दोस्रो र तेस्रो सिजनमा पनि निर्णायकको भूमिकामा थिइन् । दुवै रियालिटी शोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा नेपाली फिल्म र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।
सन्दीप क्षेत्री, बाबु बोगटी, दीलिप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्तलगायत ३० भन्दा बढी फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुकोे उपस्थिति रहने कार्यक्रममा जानकारी गराइयो । अभिनेत्री केकी ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार अमेरिका प्रस्थान गर्न लागेको भए पनि गायक प्रमोद खरेल भने केही समयपछि मात्र अमेरिका जानेछन् । गायक खरेलले विदेशी भूमिमा यस खालका कार्यक्रमहरु हुनु एकदमै राम्रो रहेको बताए ।
तस्वीर : योगेन्द्र भुजेल/भद्र बहादुर कार्की/कोरिबाटी