रामबाबु गुरुङको ‘फूलबारी’मा मिरुनाको ठाउँमा शिल्पाको इन्ट्री

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको नयाँ चलचित्र ‘फूलबारी’मा कलाकारहरु हेरफेर भएका छन् । चलचित्र छायांकनको अन्तिम चरणमा पुग्दा चलचित्रबाट अभिनेत्री मिरुना मगर र सिर्जना सुब्बा बाहिरिएका छन् । त्यस्तै चलचित्रमा अभिनेत्री शिल्पा मास्के र ‘कबड्डी ४’ फेम्ड गौमाया गुरुङको इन्ट्री भएको छ ।

लण्डनमा रहेकी मिरुना खराब मौसमको कारण समयमै नेपाल आउन नसकेको र सिर्जना ‘छड्के २’को लागि मनाङमा भएकाले तालिका नमिलेकाले मिरुनाको ठाउँमा शिल्पा र सिर्जनाको ठाउँमा गौमाया भित्रिएकी हुन् । पारिवारिक कथामा आधारित चलचित्रमा विपिन कार्की, दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका छ ।

चलचित्रले आमा-बुबा र सन्तानबीचको सम्बन्धको कथा भन्नेछ । चलचित्रको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको चलचित्रलाई मनिष ढकालले निर्माण गरेका हुन्। चलचित्रलाई अमेरिकी प्राविधिक जोस हेरमले छायांकन गरेका हुन् । यशोधा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत छ। आमा बनेपछि चलचित्र अभिनयबाट बाहिर रहेकी प्रियंकाले यहि चलचित्रबाट कमब्याक गर्ने छिन् । गत बैशाख २५ गते रिलिज भएको चलचित्र ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन लागेकी हुन् ।

Leave a Reply