दशैँको अवसरमा घटस्थापनाको तीन दिन अगाडि अर्थात् गत असोज ७ गतेदेखि नेपाल, भारतसहित विश्वका ३ दर्जन देशमा एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत–३’ अब पाकिस्तानमा पनि प्रदर्शनमा आउने भएको छ । पाकिस्तानमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुने भएको छ। आगामी कात्तिक १८ (नोभेम्बर ४)मा चलचित्रलाई पाकिस्तानमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
उक्त मितिमा प्रदर्शन गर्ने तयारीस्वरुप चलचित्रको सेन्सर पनि भइसकेको बताइएको छ । पाकिस्तानमा उर्दू भाषामा डबिङ गरेर चलचित्र प्रदर्शन गर्न लागिएको हो । हिन्दी र नेपाली भाषामा निर्माण भएको चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डबिङ गरेर सिनेमा घरमा रिलिज गरिएको हो ।
चलचित्रमा प्रदीप खड्का, नव-अभिनेत्री क्रिस्टिना गुरुङको साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ। सन्तोष सेनको लगानीमा बनेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।