आज शुक्रबार हलमा दुई नेपाली र एक विदेशी चलचित्र प्रदर्शनमा आएका छन्। नेपाली चलचित्रतर्फ ‘के घर के डेरा’ र ‘नालापानी’ तथा हलिउडको ‘ब्ल्याक एडम’ प्रदर्शनमा आएका हुन्। यी तीनैवटा भिन्न जनराका चलचित्र हुन् । ड्वेन रक जोन्सन स्टारर हलिउड सुपरहिरो चलचित्र ‘ब्ल्याक एडम’ प्रतिक्षीत रहेको चलचित्र हो । चलचित्रले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ ।
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की र वर्षा राउतको प्रमुख भूमिका रहेको छ । यो चलचित्र काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बनेको हो । चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा भएको हो । चलचित्रमा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय छ ।
चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको चलचित्र ‘नालापानी’का निर्देशक रिमेश अधिकारी हुन् । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो । चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।
यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।