तिहारको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित मल्टीस्टारर चलचित्र ‘के घर के डेरा’ले बक्सअफिसमा सुखद् उपस्थिति जनाएको छ । पहिलो दिनको पहिलो शोजमा करिब ४० प्रतिशतको अकुपेन्सी साँझसम्म ८० माथि पुगेको थियो । त्यस्तै केही हल त हाउसफुल पनि भए । चलचित्रको व्यापार आज शनिवार उच्च रह्यो । शनिबार विहानी शोबाटै चलचित्र हेर्ने दर्शकको उपस्थिति उल्लेख्य देखिएको थियो ।
शुक्रबार र शनिबार कलाकारसहित निर्माण टिम दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलहरुमा पुगेका थिए । राजधानीका ठूला मल्टीप्लेक्सहरु बिग मुभिज, क्यूज सिनेमाज्, वान सिनेमाज्, एफक्यूब, विएसआर, आइएनआइ, रञ्जना सिनेप्लेक्स लगायतमा चलचित्रको अकुपेन्सी बलियो देखिएको छ । देशभरका सिंगल स्क्रिनमा पनि उस्तै अकुपेन्सी देखिन्छ । चलचित्रले पाएको सकारात्मक समीक्षा र ‘वर्ड अफ माउथ’ले आगामी दिन पनि उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, सुरक्षा पन्त, रविन्द्र झा, वर्षा राउतसँगै लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको पटकथा तथा संवाद महेश दवाडीको हो । सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।