Public Review – ‘महापुरुष’
लेखक :- सौरभ आचार्य , कन्याम हर्कटे
धेरै पछि आज फरक खालको यात्रा गर्ने अवसर पाइयो, हाम्रो समूह आदर्शनगर बाट यात्रा थाल्न विर्तामोड स्थित One Stop (QFX) मा चढ्यौ । हामी सँगै यात्रामा ८ वर्षको सानो बालक देखि हजुरबा हजुरामाहरु सम्मको समूह देख्न पाइयो । आदर्शनगर मा हासी हासी यात्रा थाल्नुभएका सबै यात्रीहरू ह्याप्पी कोलोनी आइपुग्दा धेरै रोएको देखे भने उत्तिकै हासेको पनि । एकैछिन अगाडि हासोले उचालिएको हाम्रो यातायात त्यसको एकैछिनमा रुवाईको आवाजहरूले भावुक हुँदै थियो । यात्रा गर्ने हरेकमा एउटा अनुभूति पाउन सकिन्थ्यो कहिले खुसीको त कहिले दुःखको ।
यात्रा सुरु गरिएको आदर्शनगर एउटा उच्च नैतिकवान समाज रहेछ । आदर्शनगर हरेक नेपाली अभिभावकहरुको कल्पनाको आदर्श समाज रहेछ । यात्रा अगाडि बढाउँदै गर्दा थाहा भयो आदर्शनगरमा उच्चतम नैतक आदर्श कायम गर्न मानवीय भावना नै दबाएर राख्न पर्ने रहेछ । आदर्शनगरमा अरूलाई र अझ विशेष गरी आफ्ना सन्तानहरुलाई खुसी बनाउन पाइने रहेछ, खुसी बनाउनै पर्ने रहेछ तर बुवा आमा खुसी हुन नपाइने रहेछ । मलाई के लाग्थ्यो भने एउटा मान्छे हुन्छ अनि अर्को मानव हुन्छ, जसमा सामान्य मानवीय भावना समेत नभएकाहरु मान्छे हुन् र मानवीय भावना हुनेहरु मानव हुन । तर आज चलचित्र हेरेर महशुष गरे आफ्नो मान्छे र मानव बाहेक अर्को दुईपनि हुँदा रहेछन् जसले आफ्नो भावना नै दबाएर राख्दा रहेछन् र तिनीहरूलाई बा आमा भनिदो रहेछ । र आदर्शनगरमा भावना लुकाएर दबाएर बस्ने बा आमाहरु मात्र हुँदा रहेछन् अथवा भनौ बस्न पर्दो रहेछ । यात्राकै क्रममा आदर्शनगरको भित्री भेगहरुमा पस्दै गर्दा थाहा भयो भावना दबाएर खुसी नै लुकाएर बनाइएको आदर्शनगर फगत एक जनाको खुसी देख्न नसक्दो रहेछ । कोही एकजना खुसी हुन खोज्यो भने आदर्श नै डगमगाउदो रहेछ । सायद यस्तो आदर्श हामीले खोजेकै होइनौ । यस्तो आदर्श हामीले रोजेकै होइनौ ।
आदर्शनगरमा पनि हाम्रो धेरै नेपाली परिवार जस्तै युवाहरुको सोच जसरी पनि विदेश जाने रहेछ । त्यहाँ पनि हामीलाई जस्तै विदेश जान पाए बाकी के मतलब भन्ने सोच धेरै रहेछ । छोटो यात्रामा आदर्शनगरका सबै परिवार भित्र छिर्न नसकिने हुनाले हामीलाई यात्रा गराइरहेका गाइड प्रदिप भट्टराईको निर्देशनमा हामी एउटा घर भित्र छिर्यौ जहाँ एक पिता माता र छोरा बस्दा रहेछन् । अझ रमाइलो के भने भौतिकरुपमा त्यहाँ दुईजना पुरुष र एउटा सुँगा मात्र बसेतापनि व्यवहारिक रूपमा भने एकजना बा एकजना आमा र एकजना छोरा र एउटा सुँगा रहेछ । व्यवहारले बा र आमा दुबै बनेको एउटा पिताको भौतिक शरीरले आफ्नो एक्लोपन र आदर्शनगरमा दबिएको भावना पोख्न सुँगा राखेका रहेछन् किनभने उनी सँगै बसेका छोरा जसरी पनि विदेश जान अनेक प्रयास गरिरहेको रहेछन् भने ति पिताको जेठो सन्तान आफ्नो पितालाई भगवान मान्ने तर भगवान सँगै मन्दिरमा बस्न नसक्ने रहेछन्, सायद यो हाम्रो नेपाली समाजको वर्तमान अव्यस्थित वास्तविकता पनि हो । भौतिकरुमा आफ्नो जिवनसाथी नै गुमाएका ती पिताले व्यवहारिक रुपमा आफै आवश्यकता अनुसार कहिले पिता त कहिले माता बनेर आफ्ना दुवै छोराहरुलाई सक्षम बनाएका रहेछन् । छोराहरुलाई सक्षम बनाउँदै जादा आफ्ना सारा भावना दबाएका ति पिता जब साथ मा रहेको छोरापनी विदेश जान्छ भन्ने निश्चित भएछ तब केही मात्रामा विचलित भएका रहेछन्, र त्यो विक्षिप्त मनले अचानक एउटा साथी पाउँदा आदर्शनगर ढलेर ह्याप्पी कोलोनी बनेको रहेछ ।
आदर्शनगर भावनाहरुको चिहान रहेछ र ह्याप्पी कोलोनी मानवीय भावनाहरुको जन्मघर । ह्याप्पी कोलोनी बनाउन आदर्शनगरहरु भत्काउन पर्छ भने हामीले अझै कैयौँ आदर्शनगरहरु भत्काउनै पर्छ ता की देशै भरै ह्याप्पी कोलोनीहरु स्थापित होउन् ।
अझ स्पष्ट रूपमा भनौ आदर्शनगर देखि ह्याप्पी कोलोनी सम्मको यात्रा गराउने चलचित्र महापुरुष नेपाली चलचित्र इतिहासमा बनेको उच्च चलचित्र हो । सीमित बाहेक धेरै नेपाली चलचित्रहरुमा दर्शक र स्क्रिनको तालमेल विपरीत हुन्छ, अर्थात स्क्रिनमा चलचित्रका पात्रहरू रुँदै गर्दा हलमा दर्शकहरु हासिरहेको हुन्छ्न् अनि स्क्रिनमा पात्रहरू हासीरहदा दर्शकहरु रिसाइरहेको हुन्छ्न् तर महापुरुष मा दर्शक र स्क्रिनको तालमेल ठिक्क मिलेको छ । स्क्रिनमा पात्रहरू हास्दै गर्दा दर्शकहरु मज्जाले हास्नेछन् भने स्क्रिनमा पात्रहरू रोइरहदा दर्शकहरु आँशु पुसिरहेका हुनेछन् । यसले चलचित्रमा अभिनयको स्तर पनि प्रस्ट पार्छ किनभने अभिनय नमिले स्क्रिन र दर्शकको तालमेल मिल्नै सक्दैन । चलचित्र हेर्दै गर्दा कमेडी च्याम्पियनका जज समेत रहेका प्रदिप भट्टराईले एकपटक कमेडी च्याम्पियन कै एक प्रतिस्पर्धी मध्येका एक कमेडियन सजन श्रेष्ठले चलाउने एक कार्यक्रममा के मा व्यस्त हुनुहुन्छ भन्ने प्रश्न गर्दा Netflix को लागि एउटा मुभी कुन हेरौ भनेर छान्न व्यस्त छु भन्नुभएको याद आयो – उहाँले उक्त कार्यक्रममा रमाइलोको लागि किन भन्नुभयो थाहा छैन तर वास्तवमा नै महापुरुष नेपाली चलचित्र उद्योग भन्दा अझै ठूलो प्लेटफर्म पाउनै पर्ने हैसियत बोकेको चलचित्र बनेको रहेछ ।
हाम्रो घर समाज र देशभित्रको आदर्शनगरहरु भत्काएर ह्याप्पी कोलोनी बनाउन एकपटक हामी सबैले सपरिवार महापुरुष हेर्नै पर्ने चलचित्र हो । सपरिवार जान सकेनौँ भने हामीले चलचित्रको आदर्शनगरमा दबिएको भावना त देख्छौ तर हाम्रो आदर्शनगरमा के चल्दैछ बुझ्न सक्दैनौं । तसर्थ अनुरोध छ एकपटक सपरिवार आदर्शनगर देखि ह्याप्पी कोलोनी सम्मको यात्रा महापुरुष मार्फत गरिदिनुहोला !