अमेरिकामा इतिहास रच्दै ‘महापुरूष’: नेपालमा पनि हाउसफुल

प्रदर्शनको तेस्रो सातामा चलचित्र ‘महापुरूष’ हाउसफुल भइरहेको छ । शुक्रबारसमेत दर्शकको साथ पाएको चलचित्र शनिवार काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुल थिए। आज पनि शतप्रतिशत अकुपेन्सीसहित शोहरू प्रदर्शन भइरहेका छन् । प्रदर्शनको तेस्रो सातामा दुई विदेशी चलचित्रसँग टक्कर गरिरहेको चलचित्रको शो दर्शकको उपस्थितिसँगै बढिरहेको छ । प्रदर्शनको दुई सातामा ७ करोड ४ लाख ग्रस कलेक्सन गरेको चलचित्र नेपालसँगै अमेरिकामा समेत इतिहास बनाउने दौडमा छ ।

चलचित्रलाई अमेरिकामा नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ । डलासबाट सुरु भएको चलचित्रले रेगुलर शोमै दर्शक पाइरहेको नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले जानकारी दिए । ‘विदेशी फिल्म प्रदर्शन हुने शैलीमै पहिलोपटक अमेरिकामा नेपाली फिल्म प्रदर्शन भइरहेको छ । यसले भरिभराउ दर्शक पाइरहेको छ । फिल्म धेरै सहरमा लाग्न बाँकी नै छ’, अमेरिका वितरक सुवेदीले भने,‘यसले अमेरिकामा प्रदर्शन भएको अहिलेसम्मको नेपाली फिल्ममा इतिहास बनाउदैछ । चलचित्र हेर्ने युवायुवती, वृद्धवृद्धासँगै विदेशी दर्शकहरू समेत आएका छन् ।’

उनले नेपाली भाषी रहेको अमेरिकाको हरेक सहरमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएँ । ‘फिल्मको डिमाण्ड बढ्दो छ । स्थानीय चलचित्र रिलिज हुँदा समेत हामीले हल पाइरहेका छौँ । जबकि यहाँ प्राइभेट नभई नेपाल झैँ सिधै टिकेर काटेर फिल्म हेर्ने मिल्ने गरी शो गरिरहेका छौँ’,उनले भने । वितरक सुवेदीका अनुसार डलासमा मात्र नोभेम्बर १० सम्ममा ६९ शो भइसकेको छ भने एटलान्टा, जर्जिया बाल्टिमोर, मेरिल्याण्ड र नर्थ क्यारोलिना, लस एन्जलस, डेनभर, एक्रोन, ह्युस्टन, अस्टिन जस्ता सहरमा समेत प्रदर्शन भइरहेको फिल्म ’महापुरूष’ को एक सय ४७ शो भइसकेको छ । विदेशी फिल्मकै शैलीमा प्रदर्शन भइरहेको पहिलो रहेको सुवेदीले बताए । ‘अमेरिका र क्यानाडामा तीन सय शो हुने प्रारम्भिक अनुमान हाम्रो छ । यो बढ्न पनि सक्छ । यो विकेन्डमा राखिएका अधिकाँस शोहरू हाउसफुल भएका छन्’, सुवेदीले भने, ‘डिसेम्बर २ बाट बे एरियाको सिनेमार्क र सिनेलाउन्जमा समेत प्रदर्शन गर्दैछौँ । महापुरूष उत्तरी अमेरिकामा सबै भन्दा बढी शो हुने फिल्म बन्दैछ ।’

चलचित्र हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकार समेत रहेका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ दंग छ ।’ विदेशमा समय छुट्याएर हाम्रो कामलाई विश्वास गरेर आउनु भएका दर्शक फिल्म हेरेर सन्तुष्ट हुनुनै हाम्रो सफलता हो’, कार्यकारी निर्माता बानियाँले भने । यसले नेपालमा तेस्रो सातामा मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा २१ शो पाएको छ ।

क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ३ शो, लबिम मलमा ४ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ ।क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा २ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा १ शो, विर्तामोडमा २ शो दिएको छ । काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा १ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा २ शो र कालिमाटीमा २ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो दिएको छ ।

दर्शकले देखाई रहनुभएको मायाले आउँदो दिनमा शो बढ्ने निर्देशक प्रदीप भट्टराईले बताए । ‘चलचित्र युरोपमा नोभेम्बर २०बाट प्रदर्शन हुँदैछ । अन्य देशमा समेत तयारी छ । चलचित्रले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमाण्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताए । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ ।

आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा चलचित्रमा डेब्यु गरेका छन् । चलचित्रको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

Leave a Reply