लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र ‘सरी मम’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा प्रज्वल श्रेष्ठको गायन, नविन बोगटी र गायक श्रेष्ठको संगीत तथा शब्द रचना छ । अभिनेता राजेश हमाल र प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपा थापाको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै चलचित्रको प्रदर्शन मिति पनि तोकिएको छ । निर्माण टिमले आगामी मंसिर १५ गतेलाई चलचित्र प्रदर्शन मिति तय गरेको हो ।
चलचित्रलाई नविन बोगटीले निर्देशन गरेका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनीका घटना बढिरहँदा कुलतमा फसेका युवायुवतीलाई लक्षित गरि चलचित्रमार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले ‘सरी मम’ बनाएको चलचित्रका कार्यकारी निर्माता विनोद लामाले बताए । चलचित्रलाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ । चलचित्रको कथा पनि लामाको नै हो । ‘सरी मम’ एक चलचित्रमात्र नभएर कुलत बिरुद्धको सामाजिक अभियान समेत रहेको निर्देशक बोगटी बताउँछन् ।
चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । चलचित्रमा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको तर्फबाट चलचित्र निर्माण भएको हो ।
चलचित्रको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल प्रतिष्ठित संस्थाहरू प्याब्सन, एन-प्याब्स, हिसान, शिक्षक महासंघलगायतले चलचित्रलाई लक्षित वर्गसम्म पुर्याउनका लागि सहकार्य गर्नेछन् । चलचित्रको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ । जेसिजका देशभरीका १ सय ७४ वटा शाखाहरूले समेत प्रदर्शनीमा सहकार्य गर्नेछन् ।