‘इकु’को तेस्रो सिरिज निर्माण हुने

२००८ मा प्रदर्शन भएको ‘इकु : द जंगल म्यान’को तेस्रो सिरिज निर्माण हुने भएको छ । यही चलचित्रमा ‘इकु’को चरित्र निभाएर चर्चित भएका सुलेमान शंकरले तेस्रो सिरिज बनाउन लागेका हुन् । सुलेमानले करिब १० वर्षपछि ‘इकु’को तेस्रो सिरिज निर्माण गर्न लागेका हुन् । चलचित्रमा उनी स्वयंको अभिनय तथा निर्माण रहनेछ ।

कमेडी कथावस्तुमा निर्माण हुन लागेको चलचित्रको यतिबेला स्क्रिप्ट लेखनको काम भैरहेको बताईएको छ । चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखिरहेका छन् । जंगलमा बस्ने एक पात्रको कथामा आधारित भएर निर्माण भएको ‘इकु’ को दोस्रो सिरिज ‘इकु : ब्याक अगेन’ २०१२मा प्रदर्शन भएको थियो ।

‘इकु’का अघिल्ला दुवै श्रृंखलालाई सागर लामिछानेले निर्देशन गरेका थिए । ‘इकु ३’का लागि भने निर्देशक फाइनल गरिएको छैन । आफैंले निर्देशन गर्ने सम्भावना पनि छ ? भन्ने प्रश्नमा सुलेमान भन्छन्, ‘आफैंले निर्देशन गर्ने सम्भावना त छैन । आफैंले धेरै काम गर्न सकिन्न । केही समयमा निर्देशकको पनि टुंगो लाग्छ ।’ उनले पछिल्लो पटक कमेडी प्रधान फिल्म ‘फिर्के’ निर्माण गरेका थिए ।

Leave a Reply