अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको रकम प्राप्त गर्ने पहिलो कलाकार बनेका छन् । सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा अनुसार राष्ट्रिय बीमा कम्पनीले अधिकारीलाई ४६ हजार ६०० रुपैयाँ उपलब्ध गरेको छ ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरे । उक्त कार्यक्रममा कलाकारहरु मदनदास श्रेष्ठ, दिनेश डिसी, पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिति थियो ।
विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो । यस कार्यक्रम अन्तर्गत विशिष्ट परिचयपत्र पाउने १०२ जना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो । चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजारसम्म गरी एक लाख प्राप्त गर्न सकिन्छ ।