हरर थ्रिलर ‘चि मुसी चि’ आजबाट प्रदर्शनमा, तर्साउला त दर्शक?

हरर थ्रिलर चलचित्र ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले एकल प्रदर्शनको अवसर पनि पाएको छ । चलचित्रले देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा मात्र शुक्रबारका लागि ३४ शो पाएको छ ।

मिर्ना जेम्स र यश सैनी निर्देशित चलचित्रमा ऋचा शर्मा, प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ । मिर्ना र यश कै कथा/पटकथा रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको चलचित्रमा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।

कमेडी र लभस्टोरी चलचित्रको दबदबा रहेको नेपालमा हरर जनराका चलचित्र निकै कम बन्छन् । तर प्राय: नेपालमा निर्माण हुने हरर चलचित्र भन्दा ‘चि मुसी चि’ भिन्न रहेको निर्माण पक्षले बताएको छ ।

नेपालमा हरर फिल्मले राम्रो व्यापार गरेको इतिहास नभएका कारण पनि फिल्ममेकर यो जनरामा जोखिम मोल्न चाहँदैनन् । यद्यपि, नेपालमा हरर फिल्म रुचाउने दर्शकको संख्या भने ठूलो छ । वर्षमा मुश्किलले एक वा दुईवटा हरर फिल्म रिलिज हुन्छन् । तर, आजसम्म कुनैले दर्शक रिझाउन सकेका छैनन् ।

नेपाली हरर फिल्मले दर्शकलाई ‘तर्साउने कम हँसाउने बढी’ गरेका छन् । यसको तात्तातो उदाहरणको रुपमा गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘सुनकेसरी’ लाई लिन सकिन्छ ।

Leave a Reply