प्रदीप रिमाल निर्देशित तीन दशक अगाडिको चलचित्र ‘के घर के डेरा’ को नाम सापटी लिएर सुब्रत राज आचार्यले निर्देशन गर्ने नयाँ चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ। यो आचार्यको तेस्रो प्रोजेक्ट हो । आज सोमवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रमा दुई भर्सटायल अभिनेता दयाहाङ राई र विपिन कार्की मुख्य भूमिकामा छन् । यसअघि यी दुई अभिनेताले चलचित्र. ‘लुट २ र जात्रै जात्रा’ मा सँगै काम गरेका थिए ।


शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र ‘के घर के डेरा’मा अभिनेत्री वर्षा राउतको पनि प्रमुख भूमिका रहने छ । दयाहाङ र विपिनसँग उनले यसअघि ‘जात्रै जात्रा’ मा स्क्रिन साझेदार गरेकी थिइन् । चलचित्रमा लुनिभा तुलाधर, रविन्द्र झा , बालकलाकार आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ । सामाजिक विषयवस्तुमा बन्ने चलचित्र चैत्रको पहिलो साताबाट छायांकन सुरु हुने बताइएको छ । चलचित्रको अहिले काठमाडौंमै छायांकन हुने पनि बताइएको छ ।
चलचित्रमा शरद श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा छन् भने चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा ‘स्माइल’को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज, गम्भिर बिस्टको कोरियोग्राफी रहनेछ । चलचित्रको पटकथा सफल केसी र प्रतिक गुरुङले मिलेर लेखेका छन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बन्न लागेको चलचित्रमा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने सिंगे लामा कार्यकारी निर्मातामा छन् ।



यो चलचित्र आउँदो बर्ष २०७७को तीजमा रिलिज हुदैछ । निर्देशक आचार्यले यसअघि ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए भने दर्जनौँ हिट गीतको भिडियो समेत निर्देशन गरेका छन् । उनले अघिल्ला दुई चलचित्र आफ्नो प्रयास रहेको र यो तेस्रो प्रयासको चलचित्रमा आफूबाट भएका कमी कमजोरी सुधार गर्ने बताए ।




