गत फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारार चलचित्र ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो । चलचित्र फ्लप भएपछि अनमोलले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै उनले उक्त चलचित्रमार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् ।
नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् । घाम डुबेपछि भोलि नयाँ बिहानी उदाउने भन्दै उनले दर्शकको दुखेको घाउमा मल्हम लगाउने समेत बताएका छन् ।
अनमोलको ‘छड्के २’लाई मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले यसलाई प्रदर्शनको ६ दिनमै हटाइदिएको थियो ।
उनी लेख्छन्, ‘मलाई थाहा छ, ‘छड्के २’मार्फत् मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ, उहाँहरूलाई नै निराश बनाउँदा म झनै दु:खी भएको छु । ‘छड्के २’ मेरो नवौं सिनेमा थियो, यहाँसम्म आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्यो, म चुक्न पुगेँ । विश्वस्त हुनुहोस्, यो समय पनि वितेर जान्छ, घाम डुबेपछि फेरि भोलि नयाँ विहानी हुन्छ ।’