स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख सहयोग प्रदान गरिएको छ । बुधबार कोष समितिले हाल उनीहरुलाई आश्रय दिएको ललितपुरस्थित स्नेही काख पुगेर सहयोग प्रदान गरेको हो । बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बशुन्धरा भुषालले रकम हस्तान्तरण गरे ।
गत फागुन १५ गते अभिनेता राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्नेही काखले स्याहार गर्ने जिम्मा लिएको थियो । २०४१ सालमा बनेको फिल्म ‘अन्याय’बाट अभिनय थालेका रणाले सयभन्दा बढी फिल्ममा काम गरेका छन् । उनको २०७५ साल माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।