अभिनेता रणवीर कपुरको प्रमुख भूमिका रहने बलिउड चलचित्र ‘एनिमल’मा नेपाली कलाकार टंक धमला अनुबन्धित भएका छन् । चलचित्रको अप्रिल १ देखि लण्डनमा छायांकन भइरहेको छ र सेटमा धमला पनि जोडिएका छन् । टंक ‘एनिमल’मा बबी देओलको भाइको भूमिकामा देखिँदैछन् । ‘एनिमल’को आधिकारिक आईएमडीबी पेजमा पनि कास्टको रुपमा धमलाको नाम उल्लेख गरिएको छ ।
धमलाले २०७६ सालमा रिलिज भएको नेपाली फिल्म ‘सरौतो’मा अभिनय गरेका छन् । उनले ब्रिटिस एयरवेज, स्वीस एयर, कोकाकोला लगायतका विज्ञापनमा काम गरेका थिए । यसअघि उक्त चलचित्रमा विपिन कार्की अनुबन्धित भएका थिए । यसका लागि उनी धेरैपटक काठमाडौं-मुम्बई आउजाउ पनि गरे तर सेड्युल जुधेको कारण अन्ततः चलचित्रमा काम गर्न असमर्थ भएर विपिनले ‘एनिमल’ छाड्नुपर्यो।
एनिमललाई सन् २०१९ मा रिलिज भएको कबीर सिंह फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गरिरहेका छन् । चलचित्रमा रणवीरसहित अनिल कपुर, रश्मिका मन्दाना र बबी देओलको पनि अभिनय रहने छ।